मेलम्ची खानेपानीमा अनियमितता प्रकरणमा पूर्वसचिव गजेन्द्रसहित चार जना भ्रष्टचारी ठहर

  Sampatti News 2024

September 23, 2024

काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको अनियमितता प्रकरणमा पूर्वसचिव गजेन्द्र ठाकुरसहित चार जनालाई भ्रष्टचारी ठहर भएका छन् । विशेष अदालतले ठाकुरसहित चार जनालाई जनही ८ वर्ष १ महिना कैद हुने फैसला सुनाएको छ।

विशेष अदालतले आज उक्त फैसलामा सजाय निर्धारण गरेको हो ।

निर्माण र परामर्शदाता तीन कम्पनीसमेत दोषी ठहर हुँदा ११ जनालाई अभियोगबाट सफाइ दिएको थियो । पूर्वसचिव भीम उपाध्यक्ष, सञ्जय शर्मा, बहालवाला सहसचिव रुद्रसिंह तामाङलगायत ११ जनाले सफाइ पाएका थिए ।

अदालतका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यद्वय तेजनारायणसिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले सचिव ठाकुरलाई ८ वर्ष एक महिना कैद र बिगो बमोजिम जरिवाना निर्धारण गरेको छ । आयोजनाको विभिन्न प्रकृति र चरणमा भ्रष्टाचार गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०८० फागुन ६ गते विशेषमा मुद्दा दायर गरेको थियो । विशेषले मुद्दामा सुनुवाइपूर्वको ‘प्रिट्रायल’ सम्पन्न गरेर निरन्तर सुनुवाइ गरी फैसला सुनाएको थियो ।

अदालतका अनुसार पूर्वसचिव गजेन्द्र ठाकुरलाई ८ वर्ष एक महिना कैद र १० करोड १० लाख ६१ हजार ७५ रुपैयाँ जरिवाना, सूर्यराज कँडेललाई ८ वर्ष १ महिना कैद, १० करोड १० लाख ६१ हजार ७५ रुपैयाँ जरिवाना, रामचन्द्र देवकोटालाई ८ वर्ष १ महिना कैद र दुई करोड ९५ लाख ६५ हजार ६०३ रुपैयाँ जरिवाना र शिवकुमार शर्मालाई ८ वर्ष कैद हुनुपर्ने ज्येष्ठ नागरिक भएकाले २ वर्ष कैद छुट तथा दुई करोड ९५ लाख ६५ हजार ६०३ रुपैयाँ जरिवाना गरिएको छ ।

प्रकाशित मिति:September 23, 2024