‘रेड नोटिस’ जारी गरिएका तीन जनालाई दुबईबाट पक्राउ गरी ल्याइयो

Nepal Cover
१० आश्विन २०८१, बिहीबार
image

काठमाडौँ । इन्टरपोलबाट ‘रेड नोटिस’ जारी भएका तीन जना फरार अभियुक्त दुबईबाट पक्राउ परेका छन् ।ठगीसम्बन्धी र जबरजस्ती करणी कसूरसम्बन्धी मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका तीन जना फरार प्रतिवादी दुबईबाट पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरूमा ठगी मुद्दा र बलात्कार मुद्दामा फरार रहेका प्रतिवादीहरू हुन् । ठगी मुद्दामा फरार रहेका भूपेन्द्र बोहोरा र रियाज भन्ने कबिर बुढाथोकी पक्राउ परेको प्रहरीले जनाएको छ । त्यस्तै जबरजस्ती करणी मुद्दामा फरार रहेका रोमन कार्कीलाई पनि पक्राउ गरी काठमाडौं ल्याइएको प्रहरीले जनाएको छ । इन्टरपोलबाट अन्तर्राष्ट्रिय स्तरमा समन्वय गरी उनीहरूलाई दुबईबाट पक्राउ गरिएको हो ।

पक्राउ परेकामध्ये भूपेन्द्र बोहोरालाई अन्तर्राष्ट्रिय स्तरमा खोजतलास एवं पक्राउ गर्नको लागि नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो लाजिम्पाटबाट अनुरोध भएपश्चात् इन्टरपोल महासचिवालयबाट २०७९ जेठ १६ गते रेड नोटिस जारी भएको थियो ।यस्तै काठमाडौँ उपत्यका प्रहरी कार्यालय अपराध अनुसन्धान शाखा रानीपोखरीबाट अनुरोध भएपश्चात् इन्टरपोल महासचिवालयबाट २०७० साउन २४ गते कबिर बुढाथोकी र २०८१ असार १२ गते रोमन कार्की विरुद्ध रेड नोटिस जारी भएको थियो ।

भुपेन्द्रलाई नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरोमा तथा कबिर र रोमनलाई जिल्ला प्रहरी परिसर काठमाडौंमा आवश्यक अनुसन्धान एवम् कारवाहीको लागि बुझाइएको नेपाल प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाले जनाएको छ ।