बर्षा बाढीबाट रौतहटमा घर डुबानको संख्या १२ सय ४५ : ३ को मृत्यु

  Sampatti News 2024

September 29, 2024

रौतहट १३ असोज। गत बिहिबार देखी परेको अबिरल बर्षासंगै रौतहट स्थित बिभिन्न नदी खोलामा आएको बाढीबाट जिल्लामा घर डुबानको संख्या १२ सय ४५ पुगेको छ। आईतवार बिभिन्न घटनामा परी ३ जनाको मृत्यु भएको छ।
जिल्लाको पूर्विभेग दुर्गा भगवती गाउँपालिका ४ पचरुखिका ३५ बर्षीय राजकुमार मुखियाको माछा मार्नक्रममा डुबेर मृत्यु भएको जिल्ला प्रहरी प्रमुख एसपी दिलीप घिमिरेले बताएका छन्। त्यस्तै परोहा नगरपालिका ७ नरकटीयाकी १४ बर्षिया आशा कुमारी साह घाँस काट्न जाँदा जमेको पानीमा डुबेर मृत्यु हुनुका साथै बौधिमाई नगरपालिका २ ईनरवाका १४ बर्षीय अनिल महतोको आफ्नै ट्युवेलमा पानी खान जाँदा करेन्ट लागेर मृत्यु भएको एसपी घिमिरेले जानकारी दिएका छन्।
अबिरल वर्षासँगै बागमती लालबकैया लगायत बिभिन्न नदी खोलामा आएको बाढीले जिल्लाको १८ स्थानियतह मध्ये १३ वटा प्रभावीत भएको जिल्ला प्रहरी कार्यालय रौतहटले आईतवार दिउँसो जारीहरेको सूचनामा उल्लेख गरिएको छ। बर्षा बाढीबाट वृन्दावन, गढीमाई,माधव नारायण, गौर, राजदेवी, ईशनाथ, परोहा, बौधिमाई, मौलापुर, देवाही गोनाही , कटहरिया नगरपालिका,दुर्गा भगवती, र यमुनामाई गाउँपालिका बढी प्रभावित भएको छ। बर्षा बाढीबाट उक्त पालिकाहरुमा १८ सय ५ घरधुरीका ५ हजार ५९५ मानिस विस्थापित भएको प्रहरीको तथ्यांकमा उल्लेख गरिएको छ। संगै जिल्ला स्थित बिभिन्न ठाउँको गरी ८ प्रहरी चौकी बस्थापित भएको थियो। त्यस्तै बर्षा बाढीले बिभिन्न स्थानको ७ बाटो अवरुद्ध भएको उल्लेख गरिएको छ।
बर्षा बाढीको बिभिन्न घटनामा परेका १२३ जना मानिसलाई संयुक्त टोलीले उद्वार गरेको जनाइएको छ। त्यस्तै विपदको समय १ गाई र ५ वटा खसी बाख्राको मृत्यु भएको प्रहरीको सूचनामा उल्लेख गरिएको छ।अबिरल बर्षा र बाढीमा राहत तथा उद्धारको लागि जिल्ला प्रहरी प्रमुख एसपी दिलिप घिमिरे सहित १०४ जनाको टोली परिचालन गरिएको बताईएको छ। त्यस्तै सशस्त्र प्रहरीका एसपी बिक्रम हुमागाईं सहित २७५ जनाको टोली परिचालन गरिएको थियो। त्यस्तै मेजर झनक थापाको कमाण्डमा १५० जना नेपाली सेना परिचालन गरिएको थियो सिडियो हिरालाल रेग्मीले जानकारी दिएका छन्। आज पनि बिहानै देखि संयुक्त सुरक्षा टोली जिल्लाको बिभिन्न स्थानमा राहत तथा उद्धारको लागि परिचालन गरिएको सिडियो रेग्मीले जानकारी दिएका छन्। बर्षा बन्द हुनुका साथै नदीहरूमा पानीको सतह घट्दै गइरहेकोले जिल्लाको अवस्था सामान्य हुँदै गएको उनको भनाई छ।

प्रकाशित मिति:September 29, 2024