बाढीपहिरो र डुबानमा परी हालसम्म १ सय ९२ को मृत्यु, ३० जना बेपत्ता

  Sampatti News

September 30, 2024

काठमाडौँ । अविरल वर्षाका कारण भएको बाढीपहिरो र डुबानमा परी हालसम्म एक सय ९२ को मृत्यु भएका छन् । गत बिहीवार र शुक्रबारको अविरल वर्षाले निम्त्याएको प्रकोपबाट ज्यान गुमाउनेको संख्या १ सय ९२ पुगेको छ। विपद्मा परेर कम्तीमा ३० जना बेपत्ता छन्। बाढीपहिरोमा परेका ३७ सय ५ जनाको उद्धार गरिएको छ। 

गृहमन्त्रालयको आज बिहानसम्मको  विवरणअनुसार विपद्मा परी सबैभन्दा बढी काभ्रेपलान्चोकमा ५० जनाले ज्यान गुमाएका छन्। अझै १० जना बेपत्ता रहेका छन्।  धादिङमा ३९ जनाले ज्यान गुमाएका छन्। ललितपुरमा ३३, काठमाडौंमा १७, सिन्धुपाल्चोकमा १०,  मकवानपुर र दोलखामा ७/७ जनाको मृत्यु भएको छ।

भक्तपुर, पाँचथर र सोलुखुम्बुमा ५/५, झापा, धनकुटा, महोत्तरी, सिन्धुली र रौतहटमा २/२ तथा सप्तरी, उदयपुर, रामेछाप र इलाममा १/१ जनाको मृत्यु भएको छ।

पहिरोमा परी  प्रमुख सेनानी (कर्णेल) मिलन केसीको पनि ज्यान गएको छ।  पृथ्वी राजमार्गअन्तर्गत धादिङको धुनिबेंसी–९, झ्याप्ले खोला खण्डमा मात्र पहिरोले बस र माइक्रोबस पुर्दा ३५ जनाको मृत्यु भएको छ। घाइते भएका ९६ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ। 

बाढीपहिरो र डुबान/कटानका कारण विभिन्न जिल्लामा रहेका १४ वटा पक्की र झोलुंगे पुल बगेका छन्। ३ हजार २ सय ९९ घर र १८ गोठ क्षतिग्रस्त भएका छन्। बाढीपहिरोमा २ सय ७२ वटा पशु/चौपाया मरेका छन्।

काठमाडौं उपत्यकामा मात्र बाढीपहिरोले ३ सय २२ घरमा क्षति पुगेको छ। २९ वटा प्रहरी कार्यालय, ६ वटा अन्य सरकारी कार्यालय र विभिन्न राजमार्ग ७५ स्थानमा भत्किएको गृहको तथ्यांक छ।

प्रकाशित मिति:September 30, 2024