सहकारी ठगीमा ढोरपाटनका मेयर देवकुमार नेपालीलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश

Nepal Cover
१६ आश्विन २०८१, बुधबार
image

बागलुङ। जिल्ला अदालत बागलुङले सहकारीको बचत ठगी आरोपमा पक्राउ परेका ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ। मंगलबार जिल्ला न्यायाधीश रमेशकान्त अधिकारीको इजलासले देवकुमारलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ ।

शुक्रवार नयाँदिल्लीबाट पक्राउ परेका नेपालीलाई आईतबार बागलुङ लगिएको थियो । बागलुङ प्रहरीले उनलाई सोमबार जिल्ला अदालतमा उपस्थित गराएकोमा बयानपछि मंगलबार थुनछेक बहस सकिएर पुर्पक्षका लागि थुनामा पठाउने आदेश भएको छ ।

इमेज बचत तथा ऋण सहकारी संस्थाका बागलुङका अध्यक्ष समेत रहेका नेपालीविरुद्ध बचत हिनामिना गरेको आरोपमा गत जेठ २४ गते जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो । त्यसपछि फरार भएका नेपालीविरुद्ध ‘रेड कर्नर’ नोटिस जारी भएको थियो ।

मुद्दामा अदालतबाट पक्राउ पुर्जी जारी भएका नेपालीका दाजु ओमप्रसाद दर्जीलाई अदालतले १ लाख ५० हजार धरौटीमा छोड्न आदेश दिएको छ । मेयर नेपालीमाथि २ अर्ब बढी बचत रकम ठगीको आरोप छ ।