कार्यवाहक मेयरलाई हर्क साम्पाङको निर्देशन- मलाई कुनै अदालतले चुनेको होइन

  Sampatti News 2024

October 22, 2024

धरान । उपप्रमुख हुँदाहुँदै वडाध्यक्षलाई कार्यवाहक मेयरको जिम्मेवारी दिएका धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङको निर्णय तत्काल कार्यान्वयन नगर्न उच्च अदालत विराटनगरले आइतबार आदेश दियो । उपमेयर आइन्द्रविक्रम बेघाले हालेको रिटमाथि सुनुवाइ गर्दै उच्च अदालतले कार्यवाहक मेयरको जिम्मा पाएका धरान- ११ का वडाध्यक्ष लोकेन्द्र फागोलाई तत्काल काम नगर्न आदेश दिएको थियो ।

अदालतले मेयर साम्पाङको निर्णय कानुनी रूपमा विवादित ठहर गर्दै यथास्थितिमा राख्न अन्तरिम आदेश जारी गरेको हो।

उच्च अदालत विराटनगरको न्यायाधीश ध्रुवराज नन्दको इजलासले मिति २०८१ असोज २३ मा पेस भएको रिट निवेदनको प्रारम्भिक सुनुवाइ गर्दै मेयरको अनुपस्थितिमा वडाध्यक्षलाई कार्यवाहकको जिम्मेवारी दिने विषय विवाद समाधान नभएसम्म निर्णय कार्यान्वयन नगर्न आदेश दिएको छ। अदालतले यस विवादमा दुवै पक्षलाई छलफलका लागि मिति २०८१ कार्तिक ६ गते उपस्थित हुनसमेत निर्देशन दिएको छ।

उपमहानगरपालिकाका उपप्रमुख अइन्द्र विक्रम बेघाले मेयरको निर्णयविरुद्ध अदालतमा निवेदन दिएका थिए। निवेदकको तर्फबाट अधिवक्ताहरू कर्णबहादुर राई, प्रेमकुमार घिमिरे र विनोदकुमार तिमिल्सिनाले कानुनी बहस गर्दै मेयरको अनुपस्थितिमा कार्यवाहकको जिम्मेवारी वडाध्यक्षलाई सुम्पनु अनुचित भएको र नगरपालिकाको कामकारबाहीमा कानुनी जटिलता निम्त्याउने तर्क गरेका थिए।

यसअघि, मेयर साम्पाङ २०८१ असोज २८ मा विदेश भ्रमणमा जाने भएपछि उनले वडाध्यक्षलाई कार्यवाहकको जिम्मेवारी सुम्पिएका थिए। तर, उच्च अदालतले स्थानीय सरकार सञ्चालन ऐन, २०७४ अन्तर्गतको व्यवस्थालाई ध्यानमा राख्दै तत्काल उक्त निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको हो। अब, दुवै पक्षको उपस्थितिमा अदालतले आगामी सुनुवाइमा निर्णय गर्नेछ।

यो आदेशसँगै धरान उपमहानगरपालिकाको प्रशासनिक नेतृत्वमा उत्पन्न विवादले नगरपालिकाको कामकाजमा असर पुर्‍याउने देखिएको छ।

प्रकाशित मिति:October 22, 2024