November 12, 2024
काठमाण्डू, नेपाल विद्युत्प्रा धिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बक्यौता नतिरेर लाइन कटानमा परेका उद्योगहरुको बिजुली आपूर्ति तत्काल हुन नसक्ने बताए ।
सञ्चालक समितिले तत्काल काटिएको लाइन जडान गर्ने निर्णय गरेको कही घण्टा नबित्दै कार्यकारी निर्देशक घिसिङको यस्तो भनाइ सार्वजनिक भएको हो ।
उनले प्राधिकरणले भारतलाई बिजुली बिक्री गर्न उसको ऊर्जा विनिमय बजारमा अघिल्लो दिन नै कबोल गरिसकेको र कबोल गरेको बिजुली नदिएमा ठूलो हर्जाना तिर्नुपर्ने भएकाले तत्काल जडान गर्न नसकिने पनि बताएका छन् ।
मंगलवार प्राधिकरण सञ्चालक समितिमा सरकारी बहुमत पुर्याएर ऊर्जा मन्त्री दीपक खड्काले तत्काल लाइन जोड्ने र १५ दिनभित्र बक्यौता असुल गर्ने निर्णय गराएका थिए ।
आइतबार मन्त्रिपरिषदको बैठकले २४ घण्टाभित्र काटिएका लाइन जोड्ने निर्णय गरेको थियो ।
कात्तिकको दोस्रो सातासम्म बक्यौता उठाउने जिम्मेवारी ऊर्जा मन्त्रालय र विद्युत् नियमन आयोगको रहेको भन्दै आएका प्रधानमन्त्री केपी ओलीलाई कांग्रेसले पनि व्यापारीहरुलाई साथ दिने निर्णय गरेपछि लाइन जोडाउन सफल भएका हुन् ।
प्राधिकरणले बक्यौता नतिर्ने उद्योगहरुको लाइन काट्दै जोड्दै गरेको यो चौथोपटक हो । ओलीले मात्रै तीनपटक काटिएको लाइन तीनैपटक जोडाएका हुन् ।
उनै प्रधानमन्त्री ओलीले २०७५ सालमा प्राधिकरणले लाइन काट्दा प्राधिकरणका कार्यकारी निर्देशक घिसिङलाई स्पष्टीकरण सोधेका थिए ।
प्राधिकरणका प्रवक्ता चन्दन घोषका अनुसार यतिखेर भारतमा करिब २ सय मेगावाट बिजुली निर्यात भइरहेको छ ।
प्रवक्ता घोषले प्राधिकरण सञ्चालक समितिले मंगलवार गरेको निर्णय क्रमश कार्यान्वयन हुने र यसका लागि औपचारिक रुपमा परिपत्र गर्नुपर्ने बताएका छन् ।
प्रकाशित मिति:November 12, 2024