आत्मसमीक्षासहित जनताको घर घरमा गएर प्रत्येक व्यक्तिलाई भेट्न कार्यकर्ताहरूलाई मााओवादी अध्यक्ष दाहालको निर्देशन

Nepal Cover
२८ कार्तिक २०८१, बुधबार
image

काठमाण्डू, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आत्मसमीक्षासहित जनताको घर घरमा गएर प्रत्येक व्यक्तिलाई भेट्न कार्यकर्ताहरूलाई निर्देशन दिएका छन् ।

बुधबार कीर्तिपुर १ र ४ को वडा अध्यक्ष पदका लागि उम्मेदवार घोषणा कार्यक्रममा बोल्दै उनले विगतका निर्वाचनमा सभामा गएर सम्बोधन मात्र गर्ने र जनताको आवश्यकतालाई ध्यान दिन नसक्ने जस्ता त्रुटि गरेको भन्दै जनताको मुक्तिका लागि नयाँ आन्दोलन सुरु गर्ने प्रतिवद्धतासहित जनतालाई भेट्न निर्देशन दिएका हुन् ।

उनले अगाडि भने,‘त्यसैले विशेष रूपमा निर्देशन गर्न चाहन्छु । घर–घरमा जानुहोस् । आत्मसमीक्षासहित जानुहोस् । जनताको आवश्यकतालाई ध्यान दिन सकेनौँ, हामी बदलिन चाहन्छौँ ।

नयाँ अभियान सुरु गर्न चाहन्छौँ, जनताको मुक्तिका लागि नयाँ आन्दोलन गर्छौँ हामीलाई अवसर दिनुस् भनेर आत्मसमीक्षासहित, प्रत्येक व्यक्तिलाई भेट्नुस् । त्यसरी मात्रै निर्वाचन प्रक्रियालाई सकारात्मक बनाउन सकिन्छ ।’
उनले आफ्नो सरकारले जनताको पक्षमा, भ्रष्टाचारको विरुद्धमा,सुशासनका पक्षमा र सामाजिक आर्थिक विकासको पक्षमा सकरात्मक प्रयास गरेको दाबी गर्दै त्यो कुरा जनताले पनि राम्रोसँग मूल्याङ्कन गरेको बताए ।

‘हामीले सायद विगतका निर्वाचनमा कतिपय त्रुटि पनि गर्ने गरेका छौँ । सबैलाई म आजैदेखि ठूलो सभालाई सम्बोधन गरेर भन्दा जनतासँग भेटेर उहाँहरूको कुरा सुन्ने र आफ्ना प्रतिबद्धता बताउने काममा समय खर्च गर्नुहोला ।

यस्ता कार्यक्रम धेरै गरेर धेरै भोट आउने होइन ।’ उनले भने, ‘पहिलाको सरकारले जनताको पक्षमा भ्रष्टाचारको विरुद्धमा,सुशासनको पक्षमा र सामाजिक आर्थिक विकासको पक्षमा सकारात्मक प्रयास गरेकै हो भन्ने कुरा जनताले बुझेको छ ।

र, नयाँ सरकार फेरि किन बन्यो भन्ने कुरा पनि सरकारले बुझेको छ ।’