सहकारीको रकम अपचलनको आरोपमा अनुसन्धानमा रहेका रास्वपा सभापति लामिछानेलाई रुपन्देहीबाट कास्की फर्काइँदै

Nepal Cover
३० कार्तिक २०८१, शुक्रबार
image

पोखरा, सहकारीको रकम अपचलनको आरोप लागेर अनुसन्धानमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई आज (शुक्रबार) रुपन्देहीबाट कास्की फर्काइँदै छ ।

उनलाई हवाई उडानमार्फत् नै आज पोखरा पठाउने तयारी गरिएको जिल्ला प्रहरी कार्यालय, रुपन्देहीले जनाएको छ ।

पूर्वउपप्रधान एवं गृहमन्त्री लामिछानेलाई प्रहरीले बुद्ध एयरमार्फत बिहीबार साँझ पठाउने तयारी गरेपनि ढिलो भएपछि आजलाई सारिएको हो ।

बयान सकिए पनि त्यसलाई प्रमाणीकरण गराउँदा राति अबेर भएपछि उनलाई आज मात्र पोखरा पठाइने अवस्था आएको एक प्रहरी अधिकृतले जानकारी दिए ।

बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा मंगलबार बयानका लागि रुपन्देही पुर्याइएका लामिछानेको बिहीबार साँझ बयान सकिएको हो ।

सहकारी ठगीको आरोपमा लामिछानेलाई २ कात्तिकमा काठमाडौंस्थित रास्वपा पार्टी कार्यालयबाट पक्राउ गरिएको थियो ।

त्यसपछि पोखरा लगिएका उनलाई प्रहरीले उनीमाथि सहकारी ठगी, संगठित अपराधका साथै सम्पत्ति शुद्धीकरणको कसुरमा समेत अनुसन्धान गरिरहेको छ ।
बयानका क्रममा लामिछानेसँग ७० भन्दा बढी लिखित प्रश्न सोधिएको र उनले इन्कारी बयान दिएको बताइएको छ ।

उनीसँग सरकारी वकिलको कार्यालय रुपन्देहीले पहिलो दिन मौखिक र बुधबारदेखि लिखित बयान लिएको थियो ।

संसदीय छानबिन विशेष समितिले सुप्रिम सहकारीको रकमसमेत गोरखा मिडियामा ल्याएर अपचलन गरेको भन्दै उनीसहितका व्यक्तिलाई कारबाही सिफारिस गर्दै प्रतिवेदन बुझाएको थियो ।