December 21, 2024
धनगढी, नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले यो सरकारलाई असफल हुने छुट नरहेको र कुनै पनि हालतमा सरकार चल्नुपर्ने बताएका छन् ।
राजनीतिक स्थायित्वका लागि दुई ठुला दल मिलेर सरकार बनेको उल्लेख गर्दै डा. कोइरालले भने, सरकार असफल भयो भने देशमा अराजकता निम्तिन्छ । कुनै पनि हालतमा यो सरकार चल्नु पर्दछ ।
जे म्यान्डेट लिएर यो सरकार गठन भएको हो, त्यो जसरी भए पनि पूरा गर्नै पर्ने डा. कोइरालाको जिकिर छ । उनले संविधान सुधारतर्फ सरकारले ध्यान दिन नसकिरहेको बताए ।
नेपाल प्रेस युनियन कैलालीले आज विहान धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन् ।
“यो सरकार गठनको मूलभूत एजेण्डा संविधान संशोधन गर्ने थियो”, नेता डा. कोइरालाले थपे, “तर संविधान सुधारतर्फ सरकारको ध्यान गएको देखिदैन् ।
नेपाली कांग्रेस र नेकपा (एमाले) ले मात्र चाहेर संविधान संशोधन हुँदैन । यसका लागि अन्य दलहरुसँग छलफल गर्नु पर्दछ । त्यस्तो छलफल भएको देखिदैन् ।”
उनले मुलुकमा राजनीतिक, आर्थिक, साँस्कृतिक अवस्था एकदम नाजुक रहेको भन्दै त्यसलाई कांग्रेस र एमाले सुधार गर्नुपर्ने बताए ।
नेता डा. कोइरालाले आगामी वर्ष हुने नेपाली कांग्रेसको १५ औं महाधिवेशनका लागि पार्टी कार्यकर्ता जुर्मुराउन थालेको उल्लेख गरे ।
पत्रकारले सोधेको जिज्ञासाको जवाफमा उनले सभापतिको उम्मेदवार बन्नका लागि विधानमा नै सबै कुरा स्पष्ट लेखिएकाले विधानको दायराभित्र पर्ने जो पनि पार्टीको सभापतिका उम्मेदबार बन्न सक्ने बताए ।
यसैगरी, एक छुट्टै प्रसङ्गमा नेता डा. कोइरालाले कैलालीको गेटामा स्वास्थ्य विज्ञान विश्वविद्यालय छिटै सञ्चालनका लागि आफूले सक्दो पहल गर्ने उल्लेख गरे ।
“मेडिकल कलेज चलाउँदा सुरुमा केही अप्ठयारा आउँछन । किनभने, म पनि एउटा मेडिकल कलेज चलाएको मान्छे हो” उनले भने, “म यहाँ केही अप्ठ्यारा देख्दिन ।
यसलाई तत्कालै सञ्चालन गर्न सकिन्छ । त्यसको लागि म सक्दो पहल गर्छु ।”
प्रकाशित मिति:December 21, 2024
December 22, 2024
December 21, 2024