काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)को एक विद्यालयका प्रधानाध्यापक, लेखापाल र व्यवस्थापन समिति सदस्यविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
नवलपरासीको (ब.सु.प.), राजनारायण माध्यमिक विद्यालयका प्रधानाध्यापक रेशम राज कण्डेल, विद्यालय सहायक (लेखापाल) सुरेश गुप्तासहित ३ जना उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको आरोपमा आरोप पत्र दायर गरिएको प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।
उनका अनुसार अनुसन्धानका क्रममा राजनारायण माध्यमिक विद्यालयका प्रधानाध्यापक रेशमराज कँडेल, लेखापाल गुप्ता र विद्यालय व्यवस्थापन समिति सदस्य कहारको मिलोमतोमा सेवाग्राहीसँग घुस लिएको खुलेको थियो ।
आयोगको कार्यालय, बुटवलबाट खटिई गएको टोलीले सेवाग्राहीबाट पैसठ्ठी हजार रुपैयाँ घुस/रिसवत लिइरहेको अवस्थामा उक्त रकमसहित उनीहरूलाई नियन्त्रणमा लिइएको घिमिरेले बताए ।
अनुसन्धानको सिलसिलामा उक्त विद्यालयका प्रधानाध्यापक कण्डेल, विद्यालय सहायक (लेखापाल) गुप्ता र विद्यालय व्यवस्थापन समितिका सदस्य कहारसमेतको मिलेमतोमा भवन निर्माण सम्पन्न पश्चात् अन्तिम बिल भुक्तानी गर्नका लागि सेवाग्राहीसँग पैसठ्ठी हजार रुपैयाँ घुस/रिसवत माग गरी लिएको पुष्टि भएकोले बिगो बमोजिम जरिवाना सजाय हुन माग दाबी लिई आइतबार विशेष अदालत, काठमाडौँमा आरोप पत्र दायर गरिएको आयोगले जनाएको छ ।