रास्वपालाई गृहमन्त्रीको प्रश्न – रवि भिजिट भिसामा अमेरिका गएर उतै बसेको हो कि होइन ?

Nepal Cover
२५ असार २०८२, बुधबार
image

काठमाडौं। गृहमन्त्री रमेश लेखकले भिजिट भिसाको दुरुपयोग गर्ने पार्टीका नेताका कार्यकर्ताहरूले नैतिकताका कुरा नसिकाउन आग्रह गरेका छन्। बुधबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूलाई यस्तो आग्रह गरेका हुन्।

गृहमन्त्री लेखकले प्रधानमन्त्रीको स्पेन भ्रमणलाई लिएर उठेका प्रश्नमा प्रधानमन्त्रीसँग जाने मानिसहरू सरकारले निर्णय गरेर लैजाने र उनीहरूको नाम सार्वजनिक पनि हुने बताए। उनले रास्वपाका सांसदहरूलाई यस्ता न्यूनतम जानकारी राख्न आग्रह गर्दै, “कोको जानुभएको थियो र त्यसमध्ये को फर्किएर आएन भनेर भनिदिए सरकारलाई सजिलो हुन्थ्यो। होइन भने यस्ता कल्पनामा, अनुमानमा असत्यका पुलिन्दा बाँधेर कहीँ पनि पुगिँदैन,” भने।

‘रवि लामिछानेजी यो सदनको सदस्य । कुनै समयमा अमेरिकामा भिजिटरको रूपमा जानु भएको थियो । भिजिटर भनेको भिजिट भिसा नै हो । उहाँ भिजिट भिसा या भिजिटरको रूपमा जानु भएको होइन भने के भिसामा जानु भएको हो जानकारी गराइदिनु होला’ लेखकले संसद्‌मा भने, ‘भिजिट भिसामा गएकोले त्यसै देशको नागरिकता लिएर बस्न पाइछ कि पाइँदैन ? त्यो दुरुपयोग हो कि होइन ?’

लामिछाने भिजिट भिसामा अमेरिका गएर बसेकोबारे आफूले पहिलैदेखि सुने पनि पहिलो पटक संसद्‌मा यो कुरा राखेको उनले बताए । ‘भिजिट भिसाको दुरुपयोग गर्ने पार्टीका कार्यकर्ताका नेताले अरूलाई नैतिकताको पाठ पढाउनु हुन्छ कि हुँदैन ?’ उनले प्रश्न गरे ।  

प्रधानमन्त्री केपी शर्मा ओलीको स्पेन भ्रमणलाई लिएर संसद्‌मा रास्वपाका सांसदहरूले अस्वाभाविक प्रश्न उठाएको भन्दै मन्त्री लेखकले यति सस्तो टिप्पणी नगर्न आग्रह गरे । 

‘भिजिट भिसा प्रकरणले एउटा कोर्स लिइसकेको छ, सरकारले गठन गरेको समितिले सुधारको काम गरिरहेको छ । हिजोआज फेरि प्रधानमन्त्रीसँगै स्पेनको भ्रमणमा गएका मान्छे उतै बसे भन्ने कुरा उठिरहेको छ’ मन्त्री लेखकले भने, ‘प्रधानमन्त्रीको औपचारिक भ्रमणमा जाने मान्छे मन्त्रिपरिषद्को औपचारिक निर्णय हुन्छ । को को मान्छे जानुभएको थियो, को फर्केर आउनु भएन बताइदिनुस् न सरकारलाई सजिलो हुन्छ । कल्पनामा, अनुमानमा, असत्यका पुलिन्दा बाँधेर कहीँ पुगिँदैन ।’

मंगलबार र बुधबारको बैठकमा रास्वपा सांसद सोविता गौतमले प्रधानमन्त्री ओली गएको कार्यक्रममा भिजिट भिसाको नाममा नेपाली गएको र उतै बसेको दाबी गरेकी थिइन् ।