नवरात्रको छैटौँ दिन आज देवी कात्यायनीको पूजा

Nepal Cover
१२ आश्विन २०८२, आईतवार
image

काठमाडौं । बडादसैँ अन्तर्गत नवरात्रको छैटौँ दिन आज देवी कात्यायनीको पूजा–आराधना गरिँदैछ। अष्टमातृकाका छैटौँ रूपका रूपमा पूजिने कात्यायनी देवीले महिषासुरको वध गरी धर्म र न्यायको स्थापना गरेकी थिइन्।

धार्मिक विश्वासअनुसार आजको दिनमा कात्यायनी देवीको आराधना गर्दा रोग, शोक, भय, दुःख र दरिद्रताको नाश भई प्रगतिको मार्गमा अगाडि बढ्न सकिन्छ।

शास्त्रीय मान्यताअनुसार महर्षि कात्यायनको तपस्याबाट प्रसन्न भई भगवती पुत्रीका रूपमा जन्मिएकी कात्यायनीले महिषासुर वध गरी धर्म र न्यायको प्रतीकका रूपमा प्रतिष्ठा पाएकी थिइन्।

पुराण अनुसार, ब्रह्मा, विष्णु र महेश्वरको तेजबाट उत्पन्न भएकी देवी कात्यायनीलाई सिंहवाहिनी, चार हातका साथ स्वर्ण वर्णमा चित्रण गरिएको छ। दाहिने हातमा अभय र वरमुद्रा रहँदा देब्रे हातमा तरवार र कमल पुष्प सुशोभित छ। उनलाई अमोघ फलदायिनीका रूपमा मानिन्छ।

यस दिन भक्तजनले आत्मदान गर्दै सहज भावले देवीको दर्शन गर्ने प्रचलन छ। बेलको फेदमा बसेर जागरण गर्ने परम्परा रहेको छ। विश्वास गरिन्छ, कात्यायनीको भक्तिद्वारा अर्थ, धर्म, काम र मोक्ष प्राप्त गर्न सकिन्छ। समकालीन सन्दर्भमा पनि उनी नारी सशक्तीकरण, आत्मबल र सामाजिक न्यायको प्रतीकका रूपमा लिइन्छ।

काठमाडौँ उपत्यकासहित देशभरका गुह्येश्वरी, दक्षिणकाली, कालिकास्थान, मैतीदेवी, इन्द्रायणी, तलेजु भवानी, विजेश्वरी, शोभा भगवती, नक्साल भगवती र भद्रकालीलगायतका शक्तिपीठमा आज विशेष पूजा आराधना भइरहेको छ।

पूजा सामग्रीमा देवीको प्रतिमा वा चित्र, रातो आशन, रातो वा कमल फूल, कलश, नरिवल, पञ्चपल्लव, अक्षता, दुवो, पान–सुपारी, बेसार, फलफूल, नैवेद्य, धूप–बत्ती, चन्दन, अबिर, पञ्चामृत, घण्टी र आरतीका सामग्री तयार पारिन्छ।

पूजन विधिअनुसार, ब्रह्ममुहूर्तमा उठी नित्यकर्म सकी रातो वस्त्र लगाएर पूजा कोठा सफा गरी गंगाजल छर्किन्छ। कात्यायनी माताको प्रतिमा स्थापना गरी दियो बालिन्छ, कलश पूजा गरिन्छ। त्यसपछि सौभाग्यसूत्र, चन्दन, सिन्दूर, दुबो, बेलपत्र, पुष्प, धूप–दीप, फलफूल, पञ्चामृत र दक्षिणा अर्पण गरिन्छ। मन्त्रजप, प्रदक्षिणा, वन्दना श्लोकपछि आरती गरी प्रसाद वितरण गर्ने परम्परा छ।

मन्त्र:

चन्द्रहासोज्ज्वलकरा शार्दूलवरवाहना ।
कात्यायनी शुभं दद्याद्देवी दानवघातिनी ।।

या देवी सर्वभूतेषु माता कात्यायनी रुपेण संस्थिता ।
नमस्तस्यै नमस्तस्यै नमस्तस्यै नमो नमः ।।