काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर बजारको परिसूचक नेप्से अघिल्लो दिनको तुलनामा ३९.९२ अंक बढेको छ ।
सो वृद्धिसँगै नेप्से २६०० अंकमा पुगेको छ । कारोबार सुरु भएपछि नै उकालो लागेको नेप्से दिनभर हरियो रह्यो । कुल २३७ कम्पनीको मूल्य बढ्दा १८ को घट्यो भने २ को स्थिर रह्यो । कारोबार रकम पनि बढेको छ । अघिल्लो दिन बिहीबार ४ अर्ब ६८ करोडको कारोबार भएकोमा आज ६ अर्ब २८ करोडको भयो । लगानी र जीवन बीमा समूह २ प्रतिशतभन्दा धेरै बढे ।
यस दिन तीन स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन सागर डिष्टिलरी, बन्दीपुर केबलकार एण्ड टुरिजम र झापा इनर्जीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। त्यस्तै, यस दिन स्वस्तिक लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ८ प्रतिशतभन्दा बढी बढेको छ भने छ्याङ्दी हाइड्रोपावरको शेयरमूल्य ६ प्रतिशतभन्दा बढी बढेको छ। कारोबारमा आएको पिपुल्स हाइड्रोपावर कम्पनीको शेयरमूल्य यस दिन सर्वाधिक ७.६५ प्रतिशत घटेको छ।
कारोबार रकमका आधारमा यस दिन एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ६५ करोड ६० लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ। त्यस्तै, यस दिन पिपुल्स हाइड्रोपावर कम्पनीको कारोबार रकम साढे ३४ करोड रुपैयाँ नाघेको छ भने राधी विद्युत कम्पनीको करिब २२ करोड रुपैयाँबराबरको शेयर किनबेच भएको छ।