नेप्सेले दियो वृद्धिलाई निरन्तरता, कारोबार रकम पनि बढ्यो

Nepal Cover
९ मंसिर २०८२, सोमबार
image

काठमाडौं । सोमबार सेयर बजारको परिसूचक नेप्से ५०.४४ अंक बढेको छ । सो वृद्धिपछि नेप्से परिसूचक २६५० अंकमा कायम भएको छ ।

त्यस्तै कारोबार रकम पनि बढेको छ । अघिल्लो दिन ६ अर्ब २८ करोडको कारोबार भएकोमा आज ७ अर्ब ३ करोडको भयो । कारोबार सुरु भएदेखि दिनभर बजार हरियो रह्यो । २१५ कम्पनीको मूल्य बढ्दा ३७ को घट्यो भने ६ को स्थिर रह्यो । सबै समूहका सूचक बढेका छन् । जीवन बीमा सबैभन्दा धेरै ४.९४ प्रतिशत बढ्यो ।

यस दिन ५ स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन झापा इनर्जी, सागर डिष्टिलरी, बन्दीपुर केबलकार एण्ड टुरिजम, स्वस्तिक लघुवित्त वित्तीय संस्था र श्रीनगर एग्रीटेक एन्डष्ट्रीजको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। त्यस्तै, यस दिन सिद्धार्थ प्रिमियम इन्स्योरेन्सको शेयरमूल्य करिब साढे ८ प्रतिशत बढेको छ भने सूर्यज्योति लाइफ इन्स्योरेन्सको शेयरमूल्य ८ प्रतिशत बढेको छ। कारोबारमा आएको माबिलुङ्ग इनर्जीको शेयरमूल्य यस दिन सबैभन्दा बढी ४.४४ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा यस दिन नेपाल लाइफ इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ। सो इन्स्योरेन्सको यस दिन २४ करोड ८१ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ। त्यस्तै, यस दिन नेपाल पुनर्बीमा कम्पनीको करिब साढे २४ करोड रुपैयाँको शेयर किनबेच भएको छ भने हिमालयन रि इन्स्योरेन्सको कारोबार रकम साढे २० करोड रुपैयाँ नाघेको छ।