माले, माल्दिभ्स। वैदेशिक रोजगारीका लागि माल्दिभ्सको राजधानी माले नजिकैको तिनोदु (Thinadhoo) टापुमा आएकी एक नेपाली महिला सुशीला कुमारी चौधरी डरलाग्दो अवस्थाबाट गुज्रिएकी छन्। एक पसलमा काम गर्न भनेर आफ्नो साथीमार्फत माल्दिभ्स पुगेकी सुशीलालाई आएको केही दिनमै शङ्कास्पद घटनाले त्रसित बनाएपछि उनलाई काम छाडेर नेपाल फर्किन निकै सङ्घर्ष गर्नुपरेको छ। यो घटनाले माल्दिभ्सको टापु क्षेत्रमा रहेका नेपाली श्रमिकहरूको सुरक्षा र त्यहाँको स्थानीय प्रशासनको भूमिकामाथि गम्भीर प्रश्न खडा गरेको छ।
डरलाग्दो घटना: ‘टिकटक’को बहाना र ज्यान बचाउन भाग्नुपर्ने अवस्था
सुशीला माल्दिभ्स आएको चार/पाँच दिनपछि रातको समयमा पसलमा एक्लै हुँदा पाँच-छ जना मान्छेको समूह आयो। उनीहरूले पसलको लाइट र क्यामेरा बन्द गर्न भनेपछि सुशीलाले सिधै इन्कार गरिन् र कम्पनी साहुको अनुमतिबिना यस्तो गर्न नसक्ने अडान लिइन्। शङ्कास्पद गतिविधि र साहुले यसअघि कहिल्यै त्यस्तो कुरा नगरेकाले उनी असाध्यै आत्तिइन् र त्यहाँबाट भागेर ज्यान जोगाउन सफल भइन्।
पछि, कम्पनी साहुले भने, “हामी त टिकटक भिडियो बनाउन लागेको थियौँ, किन भागेको?” र उनलाई उल्टै धम्क्याउन थाले। साहुको यो व्यवहारले सुशीला झन् त्रसित भइन् र उनले काम नगर्ने तथा नेपाल फर्किने गुनासो गरिन्। तर, साहुले उल्टै “हामीले यति धेरै पैसा खर्च गरिसकेका छौँ” भन्दै उनको अनुरोधलाई ठाडै अस्वीकार गरे। सुशीलाले आफू नेपालबाट साढे तीन लाख रुपैयाँ तिरेर आएको बताउँदा साहुले “त्यो हामीलाई थाहा छैन” भन्दै गैरजिम्मेवार जवाफ दिए।
नेपाल हेल्पलाइनको पहल: टिकटको पैसा तिर्दा पनि बढ्यो डिमान्ड
त्रसित सुशीलाले आफ्नो साथीमार्फत माल्दिभ्सस्थित नेपाल हेल्पलाइन (Nepal Helpline) मा सहयोगका लागि गुहार मागिन्। हेल्पलाइनका प्रतिनिधि सरोज सापकोटा र श्रीकृष्ण फुयाल सुशीलासँग लगातार सम्पर्कमा रहे।
नेपाल हेल्पलाइनले साहुलाई सम्पर्क गर्दा साहुले आफूले मालेबाट टापुसम्म ल्याएको टिकटको पैसा दिएमा सुशीलालाई माले पठाउन र काठमाडौँ फर्काउन तयार हुने बताए। सुशीलाको आग्रहमा, नेपालबाट पैसाको व्यवस्था गर्ने भन्दै तत्कालका लागि टिकटको व्यवस्थापन गर्न र पैसा तिर्न भनिन्। त्यसपछि, टिकटको लागि भन्दै २९५२MVR मालदिभ्स रुपैयाँ बराबरको ३०० MVR साहुको कम्पनीको खातामा ट्रान्सफर गरियो।
तर, पैसा पाइसकेपछि पनि साहुको नियत बदलिएन, उल्टै उनले इन्सुरेन्स, मेडिकल लगायतका थप पैसाको माग गर्न थाले।
प्रहरी प्रशासनको ‘सकारात्मक’ प्रतिक्रिया, तर टापुमा प्रभावहीन
साहुको थप डिमान्ड र असहयोगपछि नेपाल हेल्पलाइनका अध्यक्ष आसिया मोहम्मद र सरोज सापकोटाले पुलिसमा जाने निर्णय गरे। प्रहरीबाट ‘पूर्ण सकारात्मक प्रतिक्रिया’ पाएको बेला नै कम्पनीका अपरेशन म्यानेजरले फोन गरेर टिकट दिने वाचा गरे। प्रहरीबाट ‘मानव बेचबिखन (Human Trafficking)’सम्बन्धी हेल्पलाइन नम्बर पनि प्राप्त भयो।
तर, पछि मानव बेचबिखन प्रहरीसँग समन्वय गर्दा उनीहरूले तिनोदु प्रहरीलाई सम्पर्क गर्न भने। तिनोदु प्रहरीलाई खबर गर्दा उनीहरूले ‘एक घण्टा, एक घण्टा’ भन्दै पुरै रात बिताइदिए तर सुशीलाको उद्धार भएन, न त उनलाई माले पठाउने टिकट नै आयो।
यसबीचमा सुशीलाका साहुले सरोज सापकोटासँगको कुराकानीमा “पुलिस त मेरो घरमा खाना खान आउँछ, तैले मेरो केही लछार्न सक्दैनस्” भन्दै धम्क्याएका थिए। यसबाट स्थानीय प्रहरी प्रशासन साहुको प्रभावमा रहेको स्पष्ट सङ्केत मिल्छ।
नेपाल हेल्पलाइनको नेपालीलाई आग्रह: टापुमा नजानुहोस्!
सुशीलाको यो घटना र टापुमा उद्धार कार्यमा आएको कठिनाइपछि नेपाल हेल्पलाइनका सरोज सापकोटाले माल्दिभ्समा वैदेशिक रोजगारीका लागि आउने सम्पूर्ण नेपालीहरूलाई गम्भीर आग्रह गरेका छन्।
“माल्दिभ्सको राजधानी (माले) मा आउनुहुन्छ भने आउनुहोस्, नत्र कुनै पनि टापुमा नआउनुहोला। टापुबाट रेस्क्यु गर्नका लागि अति भन्दा अति मुस्किल कार्य हो। त्यहाँ एक-अर्कासँग सबैजना मिलेका हुन्छन् र मालदिभ्सको टापुमा त्यही टापुकै कानुन चल्छ।”
यो घटनाले माल्दिभ्सका टापुहरूमा कार्यरत नेपाली श्रमिकहरूको सुरक्षा र कानुनी प्रक्रियामा सहज पहुँचको अभावलाई उजागर गरेको छ, जहाँ स्थानीय शक्तिशाली व्यक्ति र प्रहरी प्रशासनको मिलेमतोमा श्रमिकहरू शोषणमा पर्ने जोखिम उच्च छ।
नेपाल हेल्पलाइन माल्दिभ्स यस विषयमा थप जानकारीका लागि स्थानीय अधिकारीहरूसँग समन्वय गरिरहेको छ र सुशीलाको सकुशल स्वदेश फिर्तीका लागि निरन्तर प्रयासरत छ।
श्रीकृष्ण फ्युयाल ,माल्दिवस