रौतहटका विभिन्न नाकाबाट खुलेआम तस्करी

Nepal Cover
२४ फाल्गुन २०८२, आईतवार
image

रौतहट । रौतहटका विभिन्न नाकाबाट सहजै रुपमा तस्करी हुने गरेको स्थानीयले आरोप लगाएका छन् । भारतबाट ल्याइने वस्तुको भन्सार राजश्व नतिरि अबैध बाटो भएर भित्र्याउन बढेसंगै उल्लेख्य मात्रामा राजश्व चुहावट भइरहेको छ । नेपाल–भारतको सिमाक्षेत्रका विभिन्न स्थानमा सशस्त्र प्रहरीको पोष्ट रहेता पनि तस्करी हुने गरेको स्थानीय बताउँछन् । सीमा क्षेत्रका बासिन्दा र प्रहरी प्रशासनमा पहुँच हुनेहरु तस्करीमा बढी संलग्न हुने गरेको स्थानीयको आरोप छ ।

स्थानीय बासिन्दा तथा स्रोतहरूका अनुसार सुरक्षा निकायको मिलेमतोमा खुलेआम तस्करी भइरहेका कारण राज्यले दैनिक लाखौँ रुपैयाँ राजस्व गुमाउँदै आएको छ।
स्रोतका अनुसार रौतहटको जयनगर, घिउरा, महुलिया, बङ्कुल तथा ब्रह्मपुरी लगायतका नाकाबाट ठूलो परिमाणमा सामान अवैध रूपमा ओसारपसार हुने गरेको छ। नेपालबाट चिनियाँ मूलका सामान भारततर्फ पठाइने र भारतबाट विभिन्न उपभोग्य तथा किराना सामग्री भन्सार नतिरी नेपाल भित्र्याइने काम नियमित रूपमा भइरहेको बताइएको छ।
स्थानीयका अनुसार जयनगर, घिउरा र महुलिया नाकाबाट खुर्सेद आलमको नेतृत्वमा रहेको समूहले कपडादेखि लिएर हार्डवेयर सामग्रीसम्म अवैध रूपमा नेपाल भित्र्याउने गरेको छ। यसरी भित्र्याइने सामानका कारण राज्यको राजस्वमा ठूलो क्षति पुगेको स्थानीयको भनाइ छ।
यस्तै कान्छा र कासिमको समूहले अवैध रूपमा केरा, फलफूल तथा राँगा–भैँसीको तस्करी गर्ने गरेको बताइएको छ। त्यसैगरी बर्कत र सागिर नामका तस्करले सुर्ती, भिन्डी, कपडा तथा किराना सामग्री नेपाल भित्र्याउने गरेको स्थानीय स्रोतले दाबी गरेका छन्।
यसैबीच श्याम सुन्दर नामका अर्को तस्करले कपडा र किराना सामग्रीको अवैध कारोबार गर्ने गरेको बताइएको छ। बङ्कुल नाकाबाट नवल यादवको समूहले ‘सुनदेखि नुनसम्म’का सामान तस्करी गर्ने गरेको स्थानीय बासिन्दाले बताएका छन्।
रौतहट सदरमुकाम गौरसँगै जोडिएको ब्रह्मपुरी नाकाबाट पनि दैनिक रूपमा गाडीका गाडी सामान भारत पठाउने र भारतबाट नेपाल ल्याउने काम भइरहेको विश्वस्त स्रोतले जनाएको छ। सो नाकाबाट नेपालबाट चिनियाँ काजु, किस्मिस, ओखर तथा मकैको बिउ भारत पठाउने गरिएको बताइन्छ।
स्थानीय बासिन्दाका अनुसार तस्करीमा संलग्न समूहहरूले नेपाल प्रहरी र सशस्त्र प्रहरीका उच्च अधिकारीदेखि चौकी इन्चार्ज र जवानसम्मलाई मासिक रकम उपलब्ध गराउने गरेका छन्। यही कारण सीमा क्षेत्रमा तस्करी नियन्त्रण हुन नसकेको उनीहरूको आरोप छ।
स्रोतका अनुसार विगत करिब चार महिनादेखि रौतहटका विभिन्न नाकाबाट खुलेआम रूपमा तस्करी भइरहेको छ। देशमा चुनावी माहोल चलिरहेका बेला सुरक्षा निकायको प्रभावकारी निगरानी नहुँदा तस्करी झनै मौलाएको स्थानीयको गुनासो छ।
स्थानीयले सीमा क्षेत्रमा कडाइका साथ निगरानी बढाई अवैध कारोबार नियन्त्रण गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्। उनीहरूले तस्करी नियन्त्रण नभए राज्यलाई ठूलो आर्थिक नोक्सानी हुने र स्थानीय अर्थतन्त्रमा समेत नकारात्मक असर पर्ने चेतावनी दिएका छन्।