जन्मदिनमा वृक्षारोपण: सांसद पौडेललाई बधाई, पत्रकार मिश्रालाई शुभकामना

Nepal Cover
२० बैशाख २०८३, आईतवार
image

रौतहट, २० वैशाख । रौतहटमा “जन्मदिनलाई सत्कर्मसँग जोडौं” अभियानले सकारात्मक सन्देश फैलाउँदै गएको छ। यही अभियानअन्तर्गत वरिष्ठ पत्रकार सञ्जय मिश्राले चन्द्रपुर–९ सिन्दुरेघारीस्थित चाँदनी जन्मोत्सव पार्कमा वृक्षारोपण गर्दै आफ्नो जन्मदिन मनाएका छन्।
निर्माणाधीन उक्त पार्कमा आयोजित कार्यक्रममा क्षेत्र नम्बर ४ का संघीय सांसद गणेश पौडेल प्रमुख अतिथिका रूपमा सहभागी थिए। कार्यक्रमका क्रममा मिश्राले बिरुवा रोप्दै जन्मदिनलाई सामाजिक उत्तरदायित्वसँग जोड्ने उदाहरण प्रस्तुत गरेका हुन्।
सोही अवसरमा जन्मोत्सव पार्क संरक्षण समितिले सांसद पौडेललाई बधाई ज्ञापन गर्दै स्थानीय नागरिकका समस्याहरू समेटिएको २२ बुँदे ध्यानाकर्षण पत्र हस्तान्तरण गरेको थियो।
कार्यक्रममा सिन्दुरेघारीका पूर्व प्रधानाध्यापक सत्रुधन प्रसाद साहलाई शैक्षिक योगदानका लागि सम्मान गरिएको थियो भने पार्कमा सहयोग गर्ने प्रलाद विश्वकर्मा, महेन्द्र गौतम, हिरामणी सुवेदी, केशव खतिवडा, गायत्री भारतीलगायतलाई पनि कदर गरिएको थियो।
संरक्षण समितिका सचिव राजु बिष्टले स्वागत मन्तव्य राखेको कार्यक्रममा सूर्यबहादुर थापा, बिकु लामा, शम्भु हुमागाईं, अरुण लामा, श्याम श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो। कार्यक्रमको अध्यक्षता ज्ञानबहादुर भट्टले गरेका थिए भने सञ्चालन प्रराज चौलागाईंले गरेका थिए।
जन्मदिनको अवसरमा टाढाबाट आएर वृक्षारोपण गरेका पत्रकार मिश्रालाई सहभागीहरूले शुभकामना व्यक्त गरेका थिए। आयोजकले छोटो समयमै कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबैप्रति धन्यवाद व्यक्त गरेका छन्।
नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव गोविन्द प्रसाद चौलागाईका अनुसार उनले सुरु गरेको “जन्मदिनलाई सत्कर्मबाट जोडौं” अभियान अहिले देशव्यापी बन्दै गएको छ। नेता, कलाकारदेखि राष्ट्रसेवक कर्मचारीसम्मले आफ्नो जन्मदिनमा वृक्षारोपण गर्ने क्रम बढ्दै गएको उनले जानकारी दिए।
उनका अनुसार जन्मदिनमा अनावश्यक खर्च गर्नुको साटो एउटा बिरुवा रोप्नु नै दीर्घकालीन लगानी हो, जसले भावी पुस्तालाई स्वच्छ वातावरण दिन मद्दत गर्छ। चौलागाईको पहलमा पार्कभित्र विभिन्न संरचना निर्माणको कामसमेत अघि बढिरहेको छ।
अभियानलाई थप विस्तार गर्न आयोजकले सबैलाई आफ्नो जन्मदिनमा कम्तीमा एक बिरुवा रोपेर समाज र वातावरणप्रति जिम्मेवार बन्न आग्रह गरेका छन्।