काठमाडौं । सरकारले पछिल्लो मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरू सार्वजनिक गरेको छ ।
सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सरकारका प्रवक्ता समेत रहेका शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी गराएका हुन् ।
सरकारले सार्वजनिक गरेको विवरणअनुसार संवैधानिक परिषद्सम्बन्धी अध्यादेश पुनः स्वीकृतिका लागि राष्ट्रपति कार्यालय समक्ष सिफारिस गर्ने निर्णय गरिएको छ। यसअघि पुनर्विचारका लागि फिर्ता भएको अध्यादेशलाई पुनः अघि बढाउने निर्णय गरिएको हो।
कृषि आपूर्ति व्यवस्थापनलाई सहज बनाउन भारतसँग सरकारी-स्तर (जी-टु-जी) माध्यमबाट ६० हजार मेट्रिक टन युरिया र २० हजार मेट्रिक टन डीएपी मल खरिद गर्न कृषि सामग्री कम्पनी लिमिटेड लाई सैद्धान्तिक स्वीकृति प्रदान गरिएको छ।
बैठकले वातावरणीय सुधार तथा पूर्वाधार विकाससँग सम्बन्धित परियोजनाका लागि विश्व बैंकबाट प्राप्त हुने सहुलियतपूर्ण ऋण र अनुदान स्वीकार गर्ने निर्णय पनि गरेको छ। जसअनुसार इलेक्ट्रोनिक पोइलर प्रवर्द्धन, उद्योगलाई कर्जा सुविधा उपलब्ध गराउने तथा वायु गुणस्तर मापन क्षमता विस्तार गर्ने कार्यक्रम अघि बढाइनेछ।
यसैगरी, संसद् भवन परिसरमा प्रवेश व्यवस्थासहित समेटिएको सिंहदरबार परिसरको परिमार्जित गुरुयोजना स्वीकृत गर्ने निर्णय पनि गरिएको सरकारका प्रवक्ता पोखरेलले जानकारी दिएका छन्।