दशैं तिहारको लागि अग्रिम बुकिङ खुल्यो

Nepal Cover
२६ आश्विन २०७७, सोमबार
image

काठमाडौं । दशैँ तिहारको लागि अग्रिम टिकट बुकिङ खुल्ने भएको छ । सार्वजनिक यातायात केन्द्रिय महासंघ नेपालले यहि ३० गतेदेखि अग्रिम बुकिङ खुल्ला गर्ने निर्णय भएको जानकारी गराएको छ । महिनौंसम्मको अन्यौलका बीच दशैं तथा तिहारका लागी लामो तथा छोटो दुरीका सवारी साधनहरुको अग्रिम बुकिङ आज सार्वजनिक यातायात केन्द्रिय महासंघ नेपालले आफ्नो कार्यालयमा गरेको पत्रकार सम्मेलनमा यही असोज ३० गतेदेखि अग्रिम टिकट बुकिङ खुल्ला गरिएको जानकारी दिएको हो ।

बिश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड १९ का कारण उत्पन्न परीस्थितीले गर्दा लामो समय सवारी साधनहरु नचलेको र त्यस बेला समेत बैंकहरुले दुख दिएको ठहर गर्दै महासंघले आन्दोलनका कार्यक्रम समेत आजकै पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको छ । राज्यका सरोकारवाला निकाय तथा बैंकहरुले यातायात व्यवसायीको रोदन नसुनेकोले गर्दा आन्दोलनको कार्यक्रम घोषणा गर्न आफुहरु बाध्य भएको महासंघले बताएको छ ।

प्रधानमन्त्री कार्यालय, अर्थ मन्त्रालय, यातायात मन्त्रालय, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, पर्यटन मन्त्रालयदेखि सरोकारवाला सबै निकायमा धाउँदा पनि सबै निकाय एकले अर्कालाई देखाउँदै पन्छिने गरेको आरोप महासंघले लगाएको छ । महामारीमा थप राहत घोषणा गर्नु पर्नेमा आफैंले बजेटमा घोषणा गरेको व्यवस्था समेत लागु नगरेकोमा महासंघका पदाधिकारीले आश्चर्य प्रकट गरेका छन् ।

महासंघले यसअघि प्रधानमन्त्री कार्यालय लगायत २७ वटै वाणिज्य मन्त्रालयहरुमा ज्ञापनपत्र बुझाई सकेको छ । आजको पत्रकार सम्मेलनमा उक्त कुराको जानकारी गराउँदै महासंघले दशैं तिहार सकिए लगत्तै पहिलो चरणमा मंसिर ६ गतेदेखि १५ गतेसम्म १० दिन विभिन्न अनुरोधात्मक कार्यक्रम गर्ने र त्यो गर्दा पनि माग सम्बोधन नभए १६ गतेदेखि देशव्यापी आम हड्तालसम्म गर्ने चेतावनी दिएको छ ।

पत्रकार सम्मेलनको आयोजना महासंघका बरिष्ठ उपाध्यक्ष किरण कुमार रिजालको अध्यक्षतामा भएको थियो ।