October 13, 2020
काठमाडौँ । कुर्था–जनकपुर–जयनगर रेल सेवा सञ्चालनका लागि स्थायी कर्मचारी भर्ना प्रक्रिया सुरु भएको छ । सरकारले तत्काल रेल सेवा सञ्चालन गर्ने तयारीका साथ करारमा कर्मचारी भर्नाको लागि दरखास्त आह्वान गरेको हो । रेलवे कम्पनीले स्थायी कर्मचारी नियुक्ति प्रक्रिया सुरु गरेको हो ।
करारमा कर्मचारी नियुक्ति गर्दा करार अवधि समाप्त भएपछि समस्या उत्पन्न हुने भएकाले स्थायी कर्मचारी नै नियुक्त गर्ने गरी प्रक्रिया थालिएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय स्रोतले जानकारी दिएको छ । रेल सेवा स्थायी रूपमा सञ्चालन गर्नका लागि स्थायी कर्मचारी नै आवश्यक पर्ने भएकाले करारमा कर्मचारी राखेर पछि हटाउँदा विभिन्न समस्या आउन सक्ने स्रोतको भनाई छ ।
करार प्रक्रियाबाट कर्मचारी भर्ना गर्दा विभिन्न किसिमको टीकाटिप्पणी आउन सक्ने तथा कर्मचारी भर्नालाई विवादरहित बनाउन र रेल्वे सञ्चालनलाई स्थायित्व प्रदान गर्न एकै पटक स्थायी कर्मचारी भर्ना गरिन लागिएको हो ।
यसअघि, छ महिनाका लागि करारमा कर्मचारी भर्ना गर्न दरखास्त आह्वान गरिएको थियो । कम्पनीले स्टेसन मास्टर, टिटी, क्यासियर, गार्ड, प्रशासन, लेखा लगायतका २९ पदमा १२९ जना करार कर्मचारी भर्नाका लागि दरखास्त आह्वान गरेको थियो । असोज १२ गतेसम्म दरखास्त दिने अन्तिम म्याद तोकिएको थियो । जसमा ३२ हजार ६८६ जनाले करारका लागि आवेदन दिएका थिए ।
मन्त्रालयका अनुसार स्थायी कर्मचारी भर्नाका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र लोक सेवा आयोगबीच अहिले अन्तिम चरणको छलफल भइरहेको छ । यसै हप्ताभित्र टुङ्गो लाग्नेछ । अहिले करारका लागि आवेदन दिएकाहरू स्वतः सहभागी हुनेछन् । अन्य इच्छुकका लागि पुनः दरखास्त आह्वान गरिनेछ । सबैको परीक्षा प्रक्रिया एकैसाथ सुरु हुनेछ ।
प्रकाशित मिति:October 13, 2020
November 23, 2024