उच्च अदालत पाटनद्धारा कर्मचारी भर्ना रोक्न आग्रह

Nepal Cover
१७ पुष २०७७, शुक्रबार
image

काठमाडौँ । उच्च अदालत पाटनले ललितपुर महानगरपालिकालाई अन्तरिम आदेश दिँदै कर्मचारी भर्ना नगर्न भनेको छ।

महानगरपालिकाले आफ्नो महानगरभित्रका २९ वटै वडाभित्र करारमा प्राविधिक कर्मचारी भर्ना गर्ने निर्णय गरेपछि उक्त निर्णय कानुनसम्मत नभएको भन्दै विपक्षीले उच्च अदालतमा मुद्दा दर्ता गरेका थिए।

यसै साता परेको सोही मुद्दाको सुनुवाइ गर्दै उच्च अदालतले सम्पूर्ण प्रक्रिया स्थगन गर्न बुधवार अन्तरिम आदेश दिएको हो।

गत असार ३१ गते एक विज्ञापन मार्फत सिभिल, कम्प्युटर, इलेक्ट्रोनिक इन्जिनियर, जुनियर आर्किटेक, कम्प्युटर अपरेटर लगायतका लागि भर्ना खुलाएको थियो। अदालतको आदेश लगत्तै महानगरपालिकाले प्रेस विज्ञप्तिमार्फत पुस १६ गते हुन लागेको मौखिक तथा प्रयोगात्मक परीक्षा स्थगन भएको सूचना जारी गरेको छ। महानगरले करार सेवाका लागि विभिन्न पदमा भर्ना गर्न लागेको थियो।