केपी ओलीको पार्टी सडकको धुलो हो,को जान्छ हेरौँलाः माधव नेपाल

Nepal Cover
२९ पुष २०७७, बुधबार
image

काठमाडौँ । पूर्व प्रधानमन्त्री एवं नेकपा दाहाल–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले केपी ओलीको पार्टी सडकको धुलो भएको आरोप लगाएका छन्।

बुधबार कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा नेकपा काठमाडौँ जिल्ला कमिटीद्वारा आयोजित बृहत कार्यकर्ता भेलामा बोल्दै अध्यक्ष नेपालले यस्तो आरोप लगाएका हुन्।

ओलीले अहिले केन्द्रीय सदस्यका लागि टिकट बाँडिरहेको नेपालले बताए।

उनले भने, ‘उहाँले केन्द्रीय सदस्य बन्न आऊ भनेर टिकट बाड्नुभएको छ। त्यो सडकछाप पार्टीमा को–को जाने हो हेर्न मात्रै बाँकी छ। उहाँको त्यो कथित पार्टीलाई परित्याग गर्नेहरुको संख्या बढ्दै छ। त्यो पार्टी सडकको धुलोमा परिणत हुन गइरहेको छ।’

केपी ओली पार्टी सिस्टममा भन्दा पनि गुटका आधारमा चल्ने व्यक्ति भएको नेपालको भनाइ छ। पार्टीले २०५० सालदेखि नै ओलीको प्रवृति झेल्दै आएको उनले बताए।

ओलीको अहंकारवादी शैलीले आफूहरुले दुःख पाइरहेको नेपालको भनाइ छ। उनले भने, ‘केपी ओलीमा मै हुँ भन्ने अहंकार छ। पार्टीभन्दा माथि ठान्नुहुन्छ आफूलाई। त्यसैले हामी पीडित भएका हौँ।’

ओलीको आचरणले उनलाई कुनै पनि हालतमा कम्युनिष्ट भन्न नसुहाउने नेपालको जिकिर छ। नेपालले भने, ‘उहाँमा कम्युनिष्ट आचरण छैन। उहाँ कुनै पनि हालतमा कम्युनिष्ट होइन। आत्मालोचनाको कुनै बानी छैन।’

केपी ओली नामको बालुवा पेलेर तेल ननिस्कने नेपालले बताए।