प्रचण्ड विरुद्ध परेको अवहेलना मुद्दाको पेसी सर्यो

  Sampatti News

February 2, 2021

काठमाडौँ । नेकपा अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्ध सर्वोच्च अदालतमा परेको अदालतको अवहेलना मुद्दाको पेसी सरेको छ ।

सर्वाेच्च अदालतले मंगलबार न्यायाधीश मनोज शर्माको इजलासमा पेसी तोकिए पनि हेर्न नभ्याइएको जनाएको छ । दाहालविरुद्ध सोमबार अधिवक्ता समीर हायूले अदालतको अवहेलनाको निवेदन दर्ता गरेका थिए ।

निवेदनमा दाहालले सर्वोच्च अदालतमा विचाराधीन मुद्दामा विभिन्न सभाहरूमा बोल्नुका साथै न्यायाधीशहरूलाई लक्षित गरेर अभिव्यक्ति दिएको जनाइएको छ । प्रतिनिधिसभा विघटनको मुद्दामा सर्वोच्चको स‌ंवैधानिक इजलासमा केही दिनयता निरन्तर बहस चलिरहेको छ ।

यसअघि प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वसभामुख दमननाथ ढुंगाना र चार पूर्वप्रधानन्यायाधीशहरू मीनबहादुर रायमाझी अनुपराज शर्मा कल्याण श्रेष्ठ र सुशीला कार्कीविरुद्ध पनि अवहेलना मुद्दा दर्ता भएको छ । उनीहरूलाई आफै उपस्थित भएर लिखित जवाफ पेस गर्न आदेश भइसकेको छ ।

प्रधानमन्त्री ओलीविरुद्ध भने ९४ वर्षीय वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीलाई तमासे भनेको र कानुन व्यवसायीले तमासा देखाएको भनेको भन्दै अवहेलना मुद्दा दर्ता भएको हो ।

प्रकाशित मिति:February 2, 2021