March 24, 2021
काठमाडौँ । जिल्ला प्रशासन कार्यालयले चितवनले राष्ट्रिय परिचयपत्र वितरणको प्रक्रिया शुरु गरेको छ । विसं २०७६ साउन मसान्तसम्म सङ्कलन भएका विवरणको परिचयपत्र बनेर आइसकेको र वितरण प्रक्रिया शुरु गरिएको कार्यालयका प्रशासकीय अधिकृत एवं सूचना अधिकारी खेमराज पौडेलले जानकारी दिनुभयो ।
उहाँका अनुसार जिल्लामा चार हजारको परिचयपत्र आइसकेको छ । परिचयपत्र आएसँगै वितरणको प्रक्रिया शुरु गरिएको उहाँले जानकारी दिनुभयो । यही चैत ४ गतेदेखि वितरणको काम शुरु गरिएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “राष्ट्रिय परिचयपत्र वितरणको प्रक्रिया चैत ४ गतेदेखि शुरु भएको छ । अहिलेसम्म १०५ जनालाइ वितरण गरिसकियको छ ।
शुरुमा आँखाको आकार नलिइएको हुँदा परिचयपत्र आएकाहरूलाई स्वयं उपस्थित गराएर आँखाको आकारको चित्र लिएरमात्रै वितरण गर्दै आएको उहाँले बताउनुभयो । “शुरुको चरणमा विवरण दर्ता गरेका सेवाग्राहीको आँखाको रेटिना लिइएको थिएन, त्यसैले हामीले व्यक्ति स्वयंको उपस्थितिमा मात्रै हाम्रो सिस्टममा राखेर दिने गरेका छौँ”, उहाँले भन्नुभयो । सेवाग्राहीलाई प्रशासन कार्यालयले आधिकारिक फेसबुक पेजबाट सूचना जारी गरेर कार्ड लिन आउन आग्रह गरे पनि तुलनात्मकरुपमा कार्ड लिन आउनेको सङ्ख्या कम रहेको उहाँको भनाइ छ ।
छुटेका र नयाँ नागरिकता लिन आउने सेवाग्राहीलाई भने प्रशासन कार्यालयबाटै विवरण सङ्कलन गराइरहेको सूचना अधिकारी पौडेलले बताउनुभयो । हाल दैनिक सरदर ८० देखि ९० जनाको विवरण सङ्कलन हुँदै आएको उहाँले जानकारी दिनुभयो । सरकारले व्यक्तिको सबै विवरण परिचयपत्रमै समावेश गरेको छ । राष्ट्रिय परिचयपत्रका लागि चितवनबाट हालसम्म तीन लाख ११ हजार ४७१ जनाले विवरण दर्ता गरेका छन् । विसं २०७६ असार १९ गतेबाट विवरण सङ्कलन शुरु भएको हो ।
प्रकाशित मिति:March 24, 2021
November 24, 2024
November 23, 2024