लोप हुँदै हिमाली जडीबुटी

  Sampatti News

March 25, 2021

काठमाडौँ । जिल्लामा यार्सागुम्बालगायत हिमाली जडीबुटी लोप हुँदै गयकोमा चिन्ता व्यक्त गरियको छ । यस्ता बस्तुको दिगो व्यावस्थापनका लागि ध्यान दिन सरोकारवाला निकायले सरकारसँग आग्रह समेत गरेका छन् ।
साइपाल गाउँपालिकाको सहयोगमा साहारा नेपालको अयोजनामा जिल्लामा पाइने हिमाली जडीबुटीलाई कसरी व्यवस्थापन गर्न सकिन्छ भन्ने विषयमा छलफल सम्पन्न भएको छ । कार्यक्रममा यार्सागुम्बा, वनलसुन, सतुवाजस्ता महत्वपूर्ण जडीबुटी परिपक्क नहुँदै निकाल्दा बीउ उत्पादन नहुने, जथाभावी फोहरमैला फाल्ने, वनमा डडेलो लगाउने गरेका कारण जडीबुटी लोप हुन गयको सरोकार वला व्याक्तिको भनाइ छ ।
दुई हजार ५४१ जनसङ्ख्या रहेको साइपालमा मुख्य आयस्रोतका रुपमा नै जडीबुटी र पशुपालन रहेको छ । वातावरणमा परेको असरले जडीबुटी उत्पादनका क्षेत्रमा असर पुगिरहेको जनाइएको छ ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी मोहन अधिकारीले साइपालको सिमाना तिब्बतसँग जोडिएकाले अवैध सामग्री ओसारपसार रोक्न आग्रह गर्नुभयो ।
जिल्ला समन्वय समिति प्रमुख खड्कबहादुर खड्काले डडेलोबाट वन र वातावरण जोगाइ बहुमूल्य जडीबुटीको संरक्षण गर्न सकिने बताउनुभएको छ ।
जेठको अन्तिम सातादेखि असारको दोस्रो सातासम्म यार्सा टिप्ने समय भए पनि हाल वैशाखको अन्तिम सातादेखि नै इजाजत लिई यार्सा सङ्कलनमा जाने गरेको सुर्मा गाउँपालिका अध्यक्ष नरबहादुर बोहराले जानकारी दिनुभयो ।
साइपाल गाउँपालिकाका अध्यक्ष राजेन्द्रबहादुर धामीले जडीबुटी संरक्षणका लागि गाउँपालिकाले प्राथमिता दिएको बताउनुभयो । बझाङको सुर्मा, साइपाल, बुङ्गल, खप्तडछान्ना, छविसपाथिभेरा गाउँपालिकालगायत स्थानीय तहमा जडीबुटी पाइँने गर्छ ।

प्रकाशित मिति:March 25, 2021