भारतमा एकै दिन झण्डै एक लाख ५३ हजार सङ्क्रमित

  Sampatti News

April 11, 2021

काठमाडौँ । भारतमा कोरोनाभाइरसबाट एकै दिनमा डेढ लाखभन्दा बढी सङ्क्रमित भएका छन् ।
एकै दिनमा यति धेरै सङ्क्रमित भएको यो पहिलो पटक भएको स्वास्थ्य अधिकारीहरुले आइतबार जानकारी दिएका छन् ।
उनीहरुका अनुसार पछिल्लो २४ घण्टामा भारतमा एक लाख ५२ हजार ८७९ जना सङ्क्रमित भएका हुन् ।
भारतमा पछिल्लो केही हप्तादेखि दैनिक सङ्क्रमितहरुको सङ्ख्यामा तिव्र बृद्धि हुँदै आएको छ भने पछिल्ला केही दिनदेखि दैनिक एक लाखभन्दा बढी सङ्क्रमित भएका छन् ।
केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले भारतमा अहिलेसम्म कुल सङ्क्रमितको सङ्ख्या एक करोड ३३ लाख ५८ हजार ८०५ पुगेको जनाएको छ ।
पछिल्लो २४ घण्टामा भारतमा कोरोनाभाइरसबाट सङ्क्रमित भएका मध्ये ८३९ जनाको मृत्यु भएको छ । योसँगै कोरोनाका कारण मृत्यु भएकाहरुको कुल सङ्ख्या एक लाख ६९ हजार २७५ पुगेको छ ।
भारतमा ११ लाख आठ हजार ८७ जना अहिले पनि सङ्क्रमित अवस्थामै रहेका छन् । मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार यसअघि गत शनिबार एकै दिनमा एक लाख ४५ हजार ३८४ जना सङ्क्रमित भएका थिए ।

प्रकाशित मिति:April 11, 2021