सिरहाको कल्याणपुर नगरपालिकामा तालाबन्दीले कामकाज ठप्प

  Sampatti News

April 13, 2021

 सिरहाको कल्याणपुर नगरपालिकामा जनप्रतिनिधिहरुले सोमबारदेखि लगाएको तालाबन्दीका कारण कामकाज ठप्प भएको छ ।नगरपालिकाका कार्यबाहक नगरप्रमुख र प्रमुख प्रशासकीय अधिकृतको मिलेमतोमा व्यापक अनियमिता भएको भन्दै वडाध्यक्ष तथा कार्यपालिका सदस्यहरुले नगरपालिकामा तालाबन्दी गरेका हुन् ।नगरपालिकामा तालाबन्दी गरेपछि मंगलबार कामकाज ठप्प रह्यो ।
नगरसभाले पारित गरेको योजनासमेत कार्यपालिका बैठकबिनै आफ्नै मनोमानी तरिकाले परिवर्तन गरी कार्यबाहक नगरप्रमुख रोहिणीकुमारी यादव र प्रमुख प्रशासकीय अधिकृत जयप्रसाद दासको मिलेमतोमा व्यापक अनियमितता भएकाले तालाबन्दी गरिएको वडाध्यक्षले जानकारी दिय ।
कल्याणपुर नगरपालिकाका नौ जना वडाध्यक्ष तथा आठ जना कार्यपालिका सदस्यले सामूहिक रुपमा ११ सुत्रीय माग अघि सार्दै नगरपालिकामा तालाबन्दी गरेको वडा नं ५ का वडाध्यक्ष दीपेन्द्र यादवले जानकारी दिनुभयो । चालू आर्थिक वर्षमा हालसम्म सामाजिक सुरक्षा, बालपोषण लगायतको भुक्तानी गर्न नसकेकाले आफूलाई स्थानीयवासीले पटकपटक वडा कार्यालयमा गई विभिन्न किसिमको आरोप लगाइने गरेको र आफूहरुलाई वडा कार्यालय सञ्चालन गर्न समेत कठिनाई भइरहकाले बाध्य भएर तालाबन्दी गर्नु परेको कल्याणपुर नगरपालिका– १ वडाध्यक्ष जयराम कामतीले बताउनुभयो ।
कार्यबाहक नगरप्रमुख यादव र प्रमुख प्रशासकीय अधिकृत दासको मिलोमतोमा कार्यपालिकालाई जानकारी नदिई विभिन्न योजना कमिसनको खेलमा आसेपासेलाई जिम्मा दिई आफूखुशी सञ्चालन गरेको वडा नं ५ का वडाध्यक्ष दीपेन्द्र यादवको आरेप छ ।

नगरपालिकाकी कार्यवाहक मेयर रोहिनी यादवले भने आफूलाई मागबारे कुनै जानकारी नै नदिई तालाबन्दी गरिएको दाबी गरिन् । ‘तालाबन्दी गर्नुभन्दा पहिला मागबारे जानकारी गराउनुपर्थ्यो, संवाद र सहकार्य गरेर समस्या समाधान गर्नुपर्थ्यो,’ उनले भनिन् ।

प्रकाशित मिति:April 13, 2021