ओली नसुध्रने पक्का भैसक्यो, अब नयाँ पार्टी गठन हुन्छः माधव नेपाल

  Sampatti News

August 18, 2021

काठमाडौं । नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीभित्र आन्तरिक एकताका लागि आफूहरु अन्तिमसम्म प्रयत्नरत रहेको र यो प्रयास नयाँ पार्टी खुलेको स्थितिमा पनि जारी रहने बताएका छन् ।

पार्टीको आफू निकट जनसङ्गठनका पदाधिकारीलाई भर्चुअल सम्बोधन गर्दै नेता नेपालले अध्यक्ष केपी शर्मा ओलीले यसबीचमा गरेका कतिपय ‘गलत र एकपक्षीय’ निर्णय फिर्ता नलिएमा एकता असम्भव रहेको बताए ।

उनले ओली नसच्चिए नयाँ पार्टीमार्फत वामपन्थी आन्दोलनको झण्डालाई फहराइने समेत स्पष्ट पारेका छन् । उनले सही कार्यदिशामा आउन तयार भएमा अहिले एकता सम्भव नभए निर्वाचनमा तालमेल वा निर्वाचनपछि पनि सहकार्य र एकताको सम्भावना सधै रहने बताए ।

उनले आफ्ना कार्यकर्तालाई एमालेको सदस्यता नवीकरण र समानान्तर गतिविधिमा सक्रिय हुन पनि आग्रह गरेका छन् ।

आफूले उपमहासचिव घनश्याम भुसालको प्रस्तावमा एकताका लागि विकल्पबारे छलफल गर्न अध्यक्ष ओली पक्षसँग पठाए पनि सच्चिने अवस्था नदेखिएको जानकारी दिँदै त्यसको प्रगति भइनसकेको बताए ।

उनले पार्टीले एकताको रटान पनि गरिरहने अनि आफूसहित १४ जना प्रतिनिधिसभा सदस्यलाई पदमुक्त गर्न सङ्घीय संसद् सचिवालयमा सिफारिस गर्ने अवस्थाले ओली एकता चाहादैनन् भन्ने कुरा प्रष्ट भईसकेको बताउँदै अब अलमल नगरी आम कार्यकर्ताको भावना अनुरुप यात्रा तय हुने बताए । आफुहरुलार्इ इमानदार पार्टी कार्यकर्ता देखी नेताहरूको ठुलै समुहको साथ रहने कुरा समेत नेता नेपालले बताए।

२०७८ भदौ २ गते प्रकाशित

प्रकाशित मिति:August 18, 2021