अपाङ्गता भएकालाई घरमै नागरिकता

  Sampatti News

September 2, 2021

अपाङ्गता भएका व्यक्तिलाई घरमै पुगेर नेपाली नागरिकताको प्रमाण पत्र वितरण गर्न सुरु गरिएको छ । जिल्ला प्रशासन कार्यालय नवलपरासी बर्दघाट सुस्तापूर्व नवलपुरले अपाङ्गता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता प्रदान गर्ने अभियान सुरु गरेको हो ।

अपाङ्गता भएका व्यक्ति नागरिकताबाट वञ्चित नहुन र सहज रुपमा नागरिकता प्राप्त गर्न सकून् भनेर त्यस्ता व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण सुरु गरिएको प्रमुख जिल्ला अधिकारी मनमाया भट्टराई पङ्गेनीले बताएकी हुन् ।

उनले जिल्लाको गैँडाकोट नगरपालिकाबाट अभियानको सुरुआत गरेकी हुन् । नगरपालिका–१२ र १३ का अति अशक्त व्यक्तिलाई उनीहरुको घरमै पुगेर उनले नागरिकता वितरण गरेकि हुन् हो । अति अशक्त, अपाङ्गता भएका व्यक्ति जिल्ला प्रशासन कार्यालयसम्म आउन निकै समस्या हुने हुँदा उनीहरूको सहजताका लागि र उमेर पुगेर पनि समयमा नागरिकता नबनाई नबसून् भनेर अभियानको थालनी गरिएको प्रजिअ पँगेनीले बताइन्

अपाङ्गता भएका व्यक्ति जिल्ला प्रशासन कार्यालयसम्म आउन समस्या हुने भएकाले उनीहरूको सहजताका लागि अभियानको थालनी गरिएको पङ्गेनीले बताइन् । जिल्ला प्रशासन कार्यालयले जिल्लाका आठवटै स्थानीय तहसँग समन्वय गरेर यो अभियानलाई निरन्तरता दिने उनको भनाइ छ ।

“कतिपय अवस्थामा अपाङ्गता भएका व्यक्तिलाई परिवारले नागरिकता बनाउन प्रशासन कार्यालयसम्म ल्याउन सक्दैनन्”, प्रजिअ पङ्गेनीले भनीन्, “त्यस्ता नागरिक नागरिकताविहीन हुने र उनीहरूले सामाजिक सुरक्षा भत्ता पाउनबाट वञ्चित हुनुपर्ने अवस्था आएकाले उनीहरुलाई राज्यबाट प्राप्त हुने सेवासुविधाबाट वञ्चित हुन नपरोस् भनेर घरमै पुगेर नागरिकता वितरण अभियान सुरु गरिएको हो ।”

उमेर पुगेर पनि नागरिकता नबनाएका अपाङ्गता भएका व्यक्तिको लगत स्थानीय तहबाट लिने र त्यसको आधारमा नागरिकता वितरण गरिने प्रजिअ पङ्गेनीले बताएकि हुन् । “अपाङ्गता परिचयपत्र स्थानीय तहले प्रदान गर्ने भएकाले कुन वडामा कति जना, अति अशक्त र अपाङ्ता भएका नागरिक छन्, नागरिकता नबनाएका कति छन्, त्यसको लगत स्थानीय तहबाट लिन्छौँ”, उनले भनीन्, “स्थानीय तहबाट आएको तथ्याङ्कको आधारमा नागरिकता वितरणको काम अगाडि बढाउँछौं ।”

प्रकाशित मिति:September 2, 2021