वाग्मतीमा १८ लाखले पूर्ण खोप लगाए

  Sampatti News

September 7, 2021

वाग्मती प्रदेशमा हालसम्म १८ लाख ४८ हजार ५८८ जनाले कोरोना भाइरस सङ्क्रमण विरुद्धको पूर्ण खोप लगाएका छन् ।

वाग्मतीमा १८ वर्ष उमेर माथिका ३२ प्रतिशत नागरिकले पूर्ण खोप लगाएको प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेशमा खोपको पहिलो मात्रा लगाएका नागरिकको सङ्ख्या छ लाख १५ हजार ६६६ अर्थात् १४ प्रतिशत रहेको छ । प्रदेशमा १८ वर्षभन्दा माथिका उमेर समूहमध्ये हालसम्म कुनै पनि खोप नलगाउने नागरिकको सङ्ख्या ३३ लाख ६४ हजार १०६ अर्थात् ५८ प्रतिशत रहेको छ ।

देशभर कोरोना विरुद्धको पूर्ण खोप लगाउनेको सङ्ख्या हालसम्म ४८ लाख ९५ हजार १५२ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । खोपको पहिलो मात्रा लगाउनेको सङ्ख्या हालसम्म ५५ लाख ३३ हजार ७९४ रहेको छ ।

प्रहरीद्वारा ११ लाखलाई निःशुल्क मास्क वितरण

कोभिड–१९ सङ्क्रमणको रोकथाम तथा जोखिम न्यूनीकरणका लागि नेपाल प्रहरीद्वारा सञ्चालित ‘तपाईको मास्क खोई ’ कार्यक्रमअन्तर्गत हालसम्म ११ लाख दुई हजार ३२२ जनालाई निःशुल्क मास्क वितरण गरिएको छ ।

प्रहरी प्रधान कार्यालयले दिएको जानकारीअनुसार उक्त कार्यक्रमअन्तर्गत गत वैशाख ६ गतेदेखि हालसम्म सो परिमाणमा निःशुल्क मास्क वितरण गरिएको हो । नयाँ भेरियन्टसहितको कोभिड–१९ को सङ्क्रमण बढ्दै गएपछि त्यसलाई रोक्न प्रहरीले ‘सङ्क्रमणबाट आफू बचौँ र अरुलाई पनि बचाऔँ’ नारासहित ‘तपाईंको मास्क खै ’ अभियानअन्तर्गत निःशुल्क मास्क वितरण गर्दैआएको छ । स्थानीय प्रशासनद्वारा जारी गरिएको निषेधाज्ञाको क्रममा स्वास्थ्य मापदण्ड उल्लङ्घन गर्ने एक हजार २६६ जनालाई सम्झाई बुझाइ छाडिएको छ । माइकिङ, प्लेकार्ड, पर्चापम्प्लेटसहितको सचेतना मूलक कार्यक्रमअन्तर्गत आठ हजार २३२ जनालाई सचेत गराइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

प्रकाशित मिति:September 7, 2021