जापानका प्रधानमन्त्री पार्टीको निर्वाचनमा मौन रहने

  Sampatti News

September 10, 2021

जापानका प्रधानमन्त्री योशिहिडे सुगा आफ्नो पार्टीको आन्तरिक निर्वाचनमा मौन रहेका छन् । नेतृत्वका लागि आफूले फेरि उम्मेदवारी नदिने बताइसकेका सुगाले उत्तराधिकारी बन्न आकांक्षीमध्ये कसैको पक्षमा नखुल्ने भनेका छन्।

सत्तारुढ दल लिवरल डेमोक्र्याटिक पार्टी एलडिपीको नेतृत्वका लागि यही सेप्टेम्बर १७ मा उम्मेदवारको अन्तिम नामावली प्रकाशित हुने भएको छ । उम्मेदवारको अन्तिम सूची प्रकाशित भएपछि निर्वाचनको दौड सुरु हुने र यही सेप्टेम्बरको २९ तारिखका दिन मतदान हुने निर्वाचन तालिका रहेको छ ।

जापानको राज्यद्धारा सञ्चालित टेलिभिजनबाट प्रसारण भएको पत्रकार सम्मेलनमा प्रधानमन्त्री सुगाले आफू कुनै पनि उम्मेदवारको पक्षमा खुलेर नलाग्ने स्पष्ट पारेका थिए । तपाईको समर्थन कुन उम्मेदवारलाई छ भन्ने पत्रकारको प्रश्नमा उत्तर दिँदै प्रधानमन्त्री सुगाले भने,“निर्वाचनमा अहिलेसम्म १७ उम्मेदवार देखिएका छन् , उनीहरुमध्ये मैले कुनै उम्मेदवारको पक्षपोषण गरेको छैन ।”

उनले पूर्व विदेश मामिला र पूर्व रक्षामन्त्री तारो कोनोले पार्टी अध्यक्षका लागि उम्मेदवार घोषणा गर्न लागेकै दिन आफू कसैको पक्षमा नउभिने स्पष्ट पारेका हुन् । उनले अघिल्लो हप्ता पार्टी अध्यक्षका लागि आफूले उम्मेदवारी नदिने घोषणा गरेका थिए । सरकारमा रहेर कोरोना भाइरसको महामारी विरुद्ध प्रभावकारी काम गर्न नसकेको भन्दै आलोचना भएपछि उनले प्रधानमन्त्रीको जिम्मेवारी समेत त्याग्ने गरी पार्टीको नेतृत्वका लागि उम्मेदवारी नदिने घोषणा गरेका छन् ।

उनले पार्टी नेतृत्वका लागि उम्मेदवारी नदिने भएपछि नयाँ आउने पार्टी अध्यक्षलाई नै प्रधानमन्त्री पदको जिम्मेबारी दिएका छन् । जापानमा प्राय सत्तारुढ दलको अध्यक्ष नै प्रधानमन्त्री हुने गरेको जनाइएको छ । प्रधानमन्त्री सुगा एकवर्ष अगाडि तत्कालीन प्रधानमन्त्री सिञ्जे आवेले आकस्मिक रुपमा राजीनामा दिएपछि प्रधानमन्त्रीमा निर्वाचित भएका थिए । जापानमा लामो समय प्रधानमन्त्रीभएका आबेको समर्थनमा प्रधानमन्त्री भएका सुगाकोभने एक वर्षमै बिदा भएको छ । उनीपछि पूर्व विदेशमन्त्री तारो कोनो र पूर्व रक्षामन्त्री सिगेरु इशिबामध्ये एकजना प्रधानमन्त्री हुने अनुमान गरिएको छ । पार्टी अध्यक्षमा उनीहरुमध्ये एकजना निर्वाचन हुने सम्भावना रहेकाले प्रधानमन्त्री पनि उनीहरुमध्येकै एक जना हुने अनुमान गरिएको हो ।

सेप्टेम्बर २९ मा पार्टी अध्यक्षमा निर्वाचित भएको नेतालाई प्रधानमन्त्री चयन गर्न अक्टोबर ४ प्रतिनिधिसभामा निर्वाचन हुने सम्भावना रहेको बताइएको छ । प्रारम्भिक सर्वेक्षणले तारो कानो नै अगाडि रहेको देखाएका छन् । उनलाई सिगेरु इशिबाले पछ्यउनु भएको छ । त्यसैगरी तेस्रोमा फुमिओ किशिदा देखिएका छन् । सत्तारुढ दलको नेतृत्व लिँदै प्रधानमन्त्री बन्नका लागि दुई महिला सानाइ ताकैचि र सेइको नोडा पनि चुनावी मैदानमा रहेको छ ।

प्रकाशित मिति:September 10, 2021