सङ्खुवासभा हत्याकाण्डः हत्याराको बयान ‘हेपाइ सहन नसकेर हत्या गरे’

  Sampatti News

September 11, 2021

काठमाडौँ । सङ्खुवासभामा एकै परिबारका पाँच जनाको हत्याकाण्डका आरोपितले हेर्पाइ सहन नसकेर हत्या गरेको बयान दिएका छन् । हत्या भएको पाँच दिनपछि प्रहरीले सङ्खुवासभाको मादी नगरपालिका–१ स्थित उम्लिङ हत्याकाण्डका आरोपीलाई पक्राउ गरी बयान लिने क्रममा हत्याराले यस्तो बताएका हुन् । पक्राउ पर्नेमा मादि–१ उम्लिङका २६ वर्षीय लोकबहादुर कार्की रहेका छन् जो हत्या गरिएका ५२ वर्षीय तेजबहादुर कार्कीका भतिज हुन् ।

प्रदेश–१ प्रहरी कार्यालयका एक उच्च अधिकृतले मृतक र आरोपी नजिकैका काका भतिज रहेको बताएका हुन् । उनले आवेगमा लोकबहादुर एक्लैले तेजबहादुरसहित ६ जनाको ज्यान लिएको खुल्न आएको बताए । उनले भने ‘यद्यपि प्रहरीले आवेशमा आएर हत्या गरिएको भने पनि यो घटना आवेश प्रेरित हत्या हो कि मनासाय प्रेरित हत्या हो भन्ने खुलेको छैन ।’

भदौ २१ मा विहान मादी नगरपालिका–१ घर भएकी आमा पार्वती कार्की, छोरा तेजबहादुर कार्की, बुहारी कमला, नातिनी बुहारी ३२ वर्षीया रञ्जना कार्की, पनाति ८ वर्षका विपिन कार्की र ५ वर्षीया गोमा कार्कीको हत्या भएको थियो ।

आरोपीत तेजबहादुरले ‘हेपेका कारण’ आवेगमा हत्या गरेको बयान दिएका छन् । प्रहरीले तेजबहादुरमा अरुलाई हेप्ने प्रवृति रहेको स्थानियले बताएको जानकारी गराए । तेजबहादुरका दुई छोरा विदेशमा छन् । लोकबहादुरलाई आफु विदेश जान नसकेकोमा ‘हिनतावोध’ थियो । तेजबहादुरको प्रवृत्ति लोकबहादुरलाई मन परेको थिएन । ‘त्यहि हेपाइ खप्न नसकेर उनले यस्तो गरेको बताए ।

बयानमा लोकबहादुरले आफुहरुको घर करिब १०० मिटरको फरकमा रहेको बताए । उनले सोमबार विहान खेताला खोज्न निस्किएका तेजबहादुरलाई बाटोमा कुरेर अचानक आक्रमण गरेर ज्यान लिन थालेका थिए, तेजबहादुरलाई हत्या गरेको पत्नी कमला र बुहारी रञ्जनाले घरबाट देखेपछि घरनजिकै रहेको खोला छेउमा दुवैलाई उनले ह्यामरले हिर्काएर हत्या गरेको उनले बयान दिएका हुन् ।

आमा र हजुरआमालाई हत्या गरेको ८ वर्षका विपिन कार्की र पाँच वर्षीया गोमा कार्कीले देखेपछि प्रमाण मेटाउन लोकबहादुरले उनीहरुलाई लखेटेर बारीमा हत्या गरे । त्यसपछि घरमा पसेर लोकबहादुरले कुँडो पकाइरहेकी ८४ वर्षीया पार्वतीको हत्या गरेको अनुसन्धानमा देखिएको छ । मृतक सवैको टाउकोमा चोट लागेको छ ।

प्रकाशित मिति:September 11, 2021