September 12, 2021
जिल्लाका सामुदायिक तथा संस्थागत विद्यालय आगामी असोज १ गतेदेखि सञ्चालन गर्ने तयारी गरिएको छ । जिल्ला सङ्कट व्यवस्थापन केन्द्रको निर्णयअनुसार यहाँ रहेका विद्यालयमा स्वास्थ्य मापदण्ड पालना गरी भौतिक रुपमा विद्यालय सञ्चालन गर्न लागिएको शिक्षा विकास तथा समन्वय एकाइले जनाएको छ ।
कार्यालयका प्रमुख भूमिलाल सुवेदीका अनुसार जिल्लामा ३४९ सामुदायिक र १७६ संस्थागत विद्यालय छन् । ती विद्यालयमा एक लाख ५६ हजार ८०० विद्यार्थी अध्ययनरत रहेको उनले जानकारी दिएका छन् । उनले भने, “एउटा कक्षामा २५ विद्यार्थी सहभागी बनाइ अध्ययन अध्यापन सुरु गर्ने तयारीमा छौ ।” एउटा बेन्चमा दुई जना राख्ने गरी व्यवस्था गरिएको उनको भनाइ छ ।
स्वास्थ्य कार्यालय, स्थानीय प्रशासन, स्थानीय तह र एकाइको समन्वयमा विद्यालय खोलेर भौतिक रुपमा पठनपाठन गर्न लागिएको हो । विद्यालय सञ्चालन गर्दा प्रर्याप्त मात्रामा साबुन पानी र सेनिटाइजरको व्यवस्था गर्नुपर्ने उनले जानकारी दिएका छन् । उनले भने, “विद्यार्थीले माक्स र फेस सिल्ड आफैले व्यवस्था गर्नुपर्ने हुन्छ ।”
भरतपुर महानगरपालिका शिक्षा महाशाखाका प्रमुख महेन्द्रप्रसाद पौडेलका अनुसार महानगरमा विद्यालय सञ्चालनका लागि १५ बुद्धे मापदण्ड तयार गरिएको छ । मापदण्डअनुसार असोज १ गते कक्षा ९ देखि १२ सम्म भौतिक रुपमा सञ्चालन गर्ने, त्यसपछि एक हप्ताको अवस्थाका आधारमा कक्षा ६ देखि ८ सम्म र बालविकास कक्षादेखि कक्षा ५ सम्म क्रमशः भौतिक रुपमा उपस्थित भई विद्यालय सञ्चालन गरिने जनाइएको छ ।
एक एक हप्ताको फरकमा अवस्था हेरेर भौतिक रुपमा कक्षा सञ्चालन गर्न लागिएको हो । विद्यार्थी न्यून भएका आधारभूत विद्यालयमा अवस्था हेरी आलोपालो वा सिफ्टमा कक्षा सञ्चालन गरिने उनले जानकारी दिएका छन्। एउटा कक्षा सिफ्ट समूहका विद्यार्थी बाहिरिने र अर्को भित्रने समयावधि आधा घण्टा राखी विद्यालय सञ्चालन गरिने उनको भनाइ छ ।
ज्वारो आउने, जिउ दुख्ने जस्ता कोभिडको लक्षण देखिएका विद्यार्थी र शिक्षकको तत्काल एन्टिजेन परीक्षणका लागि नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गर्न महाशाखाले अनुरोध गरेको छ । स्वास्थ्य मापदण्डको पूर्ण रुपमा पालना गर्दै विद्यालय सञ्चालन गर्न लागिएको उनले जानकारी दिए ।
महानगरमा अहिले सामुदायिक र संस्थागत गरी २२० विद्यालय रहेका छन् । यहाँ ८८ हजार ७६५ विद्यार्थी अध्ययनरत रहेको पौडेलले बताएका छन्। जिल्लामा रहेका सातवटै पालिकाले विद्यालय सञ्चालनका लागि मापदण्ड तयार गरेका छन् । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन प्याप्सनका अध्यक्ष टीकाराम चापागाईंले विद्यालय सञ्चालनका लागि आवश्यक तयारी थालिएको बताएका हुन् ।
प्रकाशित मिति:September 12, 2021
November 24, 2024