यहाँ टाटा सुमो जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । आज दिउँसो मानेभञ्ज्याङ गाउँपालिका– ६ मितेरीभञ्ज्याङमा टाटा सुमो दुर्घटना हँुदा बारा घर भएका करिब ४० वर्षीय पृथ्वीबहादुर श्रेष्ठको घटनास्थलमै मृत्यु भएको हो ।
मृतक श्रेष्ठको स्थायी ठेगाना बारा जिल्ला भन्ने खुले पनि स्थानीय ठेगाना यकीन भइनसकेको जिल्ला प्रहरी कार्यालयका प्रमुख गोविन्दराज काफ्लेले बताएका छन्। बा११च ५२१० नम्बरको सुमो दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको र अन्य नौ जना घाइते भएको उहाँको भनाइ छ । घाइते हुनेमा दुई महिला, चार नाबालक र चालकसहितका अन्य पुरुष छन् ।
दुर्घटनाका घाइतेमध्ये चार जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । घाइतेको उदयपुरको घुर्मीमा उपचार भइरहेको छ । सिद्धिचरण नगरपालिकाको निशङ्खे हुँदै मानेभञ्ज्याङ–१ मोलीको बाटो भएर काठमाडौँका लागि छुटेको सुमोमा १० व्यक्ति सवार थिए । दुर्घटनाका घाइतेको उद्धार र घटनाको अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय प्रमुख काफ्लेसहितको प्रहरी टोली घटनास्थल पुगेकोे जनाइएको छ ।