रामेछापमा गोदाममै थन्कियो पीसीआर मेसिन

  Sampatti News

September 23, 2021

रामेछापमा गोदाममै थन्कियो पीसीआर मेसिन

रामेछापमा कोरोना परीक्षणको लागि ल्याएको पीसीआर मेसिन जिल्ला अस्पतालको गोदाममा थन्किएको छ ।

गत साउन २४ गते ल्याएको पीसीआर मेसिन सम्बन्धित निकायको ढिलासुस्तीका कारण गोदाममै थन्किएको हो ।

कोरोना परीक्षणको दर बढाउन वाग्मती प्रदेश सरकारको सहयोगमा उक्त मेसिन ल्याइएको थियो ।

मेसिन गोदाममा थन्किँदा कोरोना भाइरसको परीक्षणका लागि यहाँका नागरिक काठमाडौँ, सिन्धुली, काभ्रेको धुलिखेललगायत ठाउँ धाउनुपर्ने बाध्यता छ ।

मेसिन थन्किदासमेत सरोकारवाला बेखबर भएको मानवअधिकार संरक्षण सञ्जालका जिल्ला संयोजक पाण्डवप्रसाद प्रसाईंले बताएका छन् ।

जिल्ला अस्पतालका निमित्त प्रमुख दीपेन्द्रनारायण श्रेष्ठ भने मेसिन सञ्चालनको तयारी भइरहेको बताए ।

“मेसिन मात्रै आएर हुँदैन, सञ्चालन गर्न संरचना र दक्ष जनशक्ति चाहिन्छ, त्यो अब पूरा हुँदैछ”, उनले भने “चाँडै परीक्षण सेवा सुरु हुन्छ ।”

जिल्ला अस्पतालमा पीसीआर मेसिन राख्न र अक्सिजन प्लान्ट राख्न आवश्यक संरचना निर्माण गर्ने काम अन्तिम चरणमा पुगेको उनले जानकारी दिएका छन् ।

जिल्लामा हालसम्म कोरोना सङ्क्रमणबाट २३ जनाको मृत्यु भइसकेको छ ।

तीन हजार १२१ जना सङ्क्रमित भएकामा तीन हजार ८० सङ्क्रमणमुक्त भइसकेका छन् ।

रामेछापमा गोदाममै थन्कियो पीसीआर मेसिन

प्रकाशित मिति:September 23, 2021