डिआइजी पावर लगाई जागिर लगाइदिने भन्दै ठगी गर्ने एक महिला पक्राउ

  Sampatti News

September 23, 2021

रौतहट । प्रहरी विद्यालयमा जागिर लगाइदिने भन्दै डिआइजीको नाममा पैसा उठाएको आरोपमा एक महिला पक्राउ परेकी छिन । रौतहटको गरुडा नगरपालिका विर्तामा रहेको प्रहरी विद्यलायमा शिक्षक पदमा स्थायी जागिर लगाइदिने भन्दै रकम उठाएको आरोपमा सर्लाही जिल्लाको हरिवन नगरपालिका ११ की शुसिला थापा दहाल पक्राउ परेकी हुन ।

पक्राउ परेकी थापाले २ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरिक्षक उमेश रंजितकारको नाममा ६ लाख रुपैंया माँग गरेकी थिइन । प्रहरी विद्यालयमा स्थायी जागिर लगाउन डिआइजी तथा विद्यालयका प्रिन्सीपल समेतलाई रकम बाडनु पर्ने भन्दै थापाले पर्सा जिल्लाका उदास कुमार पाण्डेसँग ६ लाख रुपैंया माँग गरेकी थिइन ।

डिआइजीको नाममा पैसा मागेको अडियो रेकर्ड बाहिरिए पछि ईलाका प्रहरी कार्यालय गरुडाले थापालाई पक्राउ गरेको हो । पाण्डेसँगको फोन संवादमा थापाले काम गराइदिने भन्दै बैंक मार्फत रकम पठाउन भनेकी थिइन । प्रदेश प्रहरी प्रमुखले रकम मागेको भन्दै अडियो बाहिरिए पछि थापालाई आज प्रहरी विद्यालयमा बोलाइएको थियो ।

पाण्डेसँगको फोन संवादमा सुनिएको आवाज आफ्नै भएको उनले स्वीकारेकी छिन । इलाका प्रहरी कार्यालय गरुडाका डिएसपी भण्डारीले भने “घटनाको छानबिनका लागी उनलाई सर्लाहीबाट प्रहरी विद्यालयमा बोलाएर अहिले नियन्त्रणमा राखिएको छ । फोन रेकर्ड गरेर आफूलाई बार्गेनिङ्ग गरेको पक्राउ परेकी महिलाले जनाएकी छिन ।

यता २ नं. प्रदेश प्रहरी कार्यालयले समेत घटनाका विषयमा ध्यानाकर्षण भएको जनाएको छ । डिआइजीको नाममा घुसा उठाएको बारेमा हिजो केही संचारमाध्यमले खबर सम्प्रेषण गरेकोमा त्यसमा कुनै सत्यता नभएको र पक्राउ परेकी महिला उपर कसुर अनुसारको कानूनी कारवाही हुने २ नं. प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
२०७८ असोज ७ गते प्रकाशित

प्रकाशित मिति:September 23, 2021