राष्ट्रकवि घिमिरेको १०३औँ जन्मजयन्ती

  Sampatti News

September 24, 2021

राष्ट्रकवि माधवप्रसाद घिमिरेको १०३ औँ जन्मजयन्तीका अवसरमा बिहीबार नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा ‘व्यक्तित्व चर्चा र रचनावाचन’ कार्यक्रमको आयोजना गरिएको छ ।

विसं १९७६ असोज ७ गते लमजुङको पुस्तुनमा जन्मिनुभएका राष्ट्रकवि घिमिरेको १०२ वर्षको उमेरमा २०७७ भदौ २ गते निधन भएको थियो ।

कार्यक्रममा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले राष्ट्रकवि घिमिरे लोकको भावना बुझेर काव्य सिर्जना गर्ने साधक भएको उल्लेख गर्दै भने, “राष्ट्रकवि घिमिरेका लोकजीवन, राष्ट्र र राष्ट्रियतालाई आत्मसात गरी गरिएका सिर्जनाहरू कालजयी छन् ।”

उप्रेतीले घिमिरेको अन्तिम महाकाव्य ‘ऋतम्भरा’ उहाँका परिवारको अनुमतिप्राप्त भएमा छाप्न तयार भएको बताए।

स्वच्छन्दतावादी भावधारा र परिष्कारवादी शैलीका काव्यशिल्पी कविवर घिमिरे प्रतिष्ठानका संस्थापक सदस्यसमेत रहनुभएका राष्ट्रकवि घिमिरे प्राज्ञ परिषद् सदस्य हुँदै उपकुलपति, कुलपति र आजीवन सदस्यका रूपमा रहेका थिए ।

उपकुलपति डा जगमान गुरुङले राष्ट्रकविलाई आफूले सदैव राष्ट्र र राष्ट्रियताप्रति जिम्मेवार स्रष्टाका रूपमा पाएको उल्लेख गरेका छन् ।

सदस्यसचिव प्रा जगत्प्रसाद उपाध्यायले राष्ट्रकविको व्यक्तित्व तथा कृतित्वमाथि प्रकाश पार्दै नेपाली राष्ट्रिय भावनालाई मजबुत बनाउनमा राष्ट्रकवि घिमिरेका सिर्जनाले महत्वपूर्ण भूमिका खेलेको उल्लेख गरेका छन् ।

प्रतिष्ठानका साहित्य पद्यकाव्य विभाग प्रमुख प्रा डा हेमनाथ पौडेलले राष्ट्रकविको पहिलो स्मृतिसभा भएको उल्लेख गर्दै अब वर्षेनी उनको जन्मतिथिका अवसरमा यस्तो कार्यक्रम आयोजना गरिने बताए ।

प्राज्ञसभा सदस्य तथा नेपाली शिक्षा परिषद्का अध्यक्ष रमा शर्माले नेपाल प्रज्ञा–प्रतिष्ठानसमक्ष राष्ट्रकवि घिमिरेले आफ्नो जीवनकालमा प्राप्त गरेका मान–सम्मान र पुरस्कारसँग सम्बन्धित सामग्रीको संरक्षण गरिदिन आग्रह गरे ।

उनले राष्ट्रकवि घिमिरेको निवासतर्फ जाने मार्गको नाम ‘राष्ट्रकवि माधवप्रसाद घिमिरे’ नामकरणका लागि सरकारसमक्ष प्रस्ताव राखिदिन अनुरोध गरेका छन् ।

राष्ट्रकवि घिमिरेका कान्छा छोरा इञ्जीनियर राजीव घिमिरेले बुवासँगका केही प्रमुख स्मृति सुनाउँदै अब छिट्टै नै ‘ऋतम्भरा’लाई प्रकाशनमा ल्याइने जनाएका छन् ।

प्रकाशित मिति:September 24, 2021