आउँदो आइतवारदेखि काठमाण्डौका विद्यालय भौतिक रुपमा खुल्ने

  Sampatti News

September 24, 2021

आउँदो आइतवारदेखि काठमाण्डौका विद्यालय भौतिक रुपमा खुल्ने

काठमाण्डौ-आउँदो आइतवारदेखि काठमाण्डौ महानगरपालिकाले भौतिकरुपमा नै विद्यार्थीको उपस्थिति गराई विद्यालय खोल्ने निर्णय गरेको छ ।

विश्वभरि फैलिएको कोरोना महामारीको दोस्रो लहरका कारण गएको वैशाखको दोस्रो हप्तादेखि बन्द रहेका विद्यालय भौतिक रुपमा खोल्ने अनुमति दिने भएको हो ।

महानगरपालिका शिक्षा विभागका प्रमुख रामप्रसाद सुवेदीले भौतिकरुपमा विद्यालय खोल्न व्यवस्थापन समितिको बैठक बसेर अभिभावकको सहमति लिएर कार्ययोजना बनाएर महानगरपालिकामा पेस गरेमा मात्र विद्यालय भौतिक रुपमा खोल्ने अनुमति दिने निर्णय भएको जानकारी दिएका छन्।

विद्यार्थी सङ्ख्या धेरै भएका विद्यालय भने खोल्नका लागि अनिवार्य गरिएको छैन ।

विद्यालय पुनःसञ्चालन गर्न व्यवस्थापन समितिको बैठक बसेर आपसी समझदारीमा मात्र सञ्चालन गर्ने गराउने व्यवस्था मिलाउने, विद्यालय सञ्चालनको विस्तृत कार्ययोजना बनाएर महानगरको शिक्षा शाखामा पेस गर्नुपर्ने र शिक्षक, विद्यालय कर्मचारी, चालक सबैले खोप लगाएको हुनुपर्ने छ ।

शिक्षक, कर्मचारी, चालकले खोप लगाउन बाँकी रहेको अवस्थामा महानगरपालिकाले खोप लगाउने व्यवस्था समेत गर्ने जनाएको छ ।

जोखिमकैबीच विद्यालय खुल्न थाले पछि अभिभावकले चिन्ता व्यक्त गर्न गरेका छन् ।

चाडपर्व आएको र कोरोनाको त्रास अझै कायमै रहेकाले दशैँ तिहारपछि मात्र भौतिकरुपमा विद्यालय खोल्नु पर्ने अभिभावकको भनाइ छ ।

आउँदो आइतवारदेखि काठमाण्डौका विद्यालय भौतिक रुपमा खुल्ने

प्रकाशित मिति:September 24, 2021