September 26, 2021
परराष्ट्रमन्त्री भेटवार्तामा व्यस्त
संयुक्त राष्ट्रसङ्घको ७६औँ महासभामा भाग लिने सिलसिलामा न्युयोर्कमा रहनुभएका परराष्ट्रमन्त्री डा नारायण खड्काले शनिबार बङ्गलादेशका विदेशमन्त्री एके अब्दुल मोमेनसँग भेटवार्ता गर्नुभयो ।
सो अवसरमा उहाँहरुबीच द्विपक्षीय, क्षेत्रीय र बहुपक्षीय सहयोग प्रवद्र्धनबारे विचारविमर्श भएको न्युयोर्कस्थित संयुक्त राष्ट्रसङ्घका लागि नेपालको स्थायी नियोगले जनाएको छ ।
भेटवार्ता व्यापार, लगानी, जलविद्युत् विकास, सीमापार ऊर्जा व्यापारलगायत आपसी हितका विषयमा केन्द्रित रहेको थियो ।
दुवै देशका विदेशमन्त्रीले विगतका सहमतिहरू कार्यान्वयन गर्न सहमति पनि जनाउनुभएको उक्त नियोगले जनाएको छ ।
शनिबार नै मन्त्री खड्काले ७६औँ महासभाका अध्यक्ष अब्दुल्ला शहिदसँग भेटवार्ता गर्नुभयो ।
भेटमा मन्त्री खड्काले संयुक्त राष्ट्रसङ्घमा नेपालका प्राथमिकता, विश्व शान्ति, सुरक्षा, विकास, मानवअधिकार, राष्ट्रसङ्घीय शान्ति स्थापनाकार्य तथा अल्पविकसित देशहरूका निम्ति विशेष सहयोगबारे छलफल गर्नुभयो ।
मन्त्री खड्काले महासभाका अध्यक्षलाई नेपालबाट पूर्ण समर्थन हुने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो ।
प्रत्युत्तरमा अध्यक्ष शहिदले आफ्नो कार्यकालमा संयुक्त राष्ट्रसङ्घमा आफ्ना प्राथमिकताबारे चर्चा गर्दै आफूलाई अध्यक्षमा नेपालबाट समर्थन भएकामा त्यसको सराहना गर्नुभयो ।
यसैबीच संयुक्त राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि अमृतबहादुर राईले मन्त्री खड्का नेतृत्वको प्रतिनिधिमण्डलको सम्मानमा शनिबार साँझ रात्रिभोजको आयोजना गर्नुभएको उक्त नियोगले जनाएको छ ।
परराष्ट्रमन्त्री भेटवार्तामा व्यस्त
प्रकाशित मिति:September 26, 2021
November 23, 2024