काठमाडौँ– साताको दोस्रो दिन सेयर बजारमा ७३.०५ अंकको गिरावट आएको छ।
आज ७३.०५ अंकले घटेर नेप्से परिसूचक २ हजार ६ सय ८५.४१ विन्दुमा ओर्लिएकोे नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ ।
सेयर बजार २.६७ प्रतिशतले घट्दा नेप्से परिसूचक २ हजार ६ सय ८५.४१ विन्दुमा ओर्लिएको हो ।
यो पछिल्लो करिब साढे ४ महिनाको न्यूनतम विन्दु हो ।
आज १ करोड ४ लाख ७८ हजार ६८ कित्ता सेयर ५ अर्ब १२ करोड ९ लाख ७३ हजार ९६ रुपैयाँमा कारोबार भएको नेप्सेले जनाएको छ ।
साताको दोस्रो दिन करिब १ अर्ब रुपैयाँ बराबरको कारोबार घट्दा सेयर बजारमा ७३.०५ अंकको गिरावट आएको हो ।
हिजो आइतबार ६ अर्ब ५० करोड १ लाख १७ हजार ७ सय ८० रुपैयाँमा कारोबार भएको थियो।
आज सबै समूह घटेका छन् । ७३.०५ अंकको गिरावटमा सबैभन्दा बढी निर्जीवन बीमा समूह ४३९.२८ अंकले घटेको छ।
घटेको बजारमा यस दिन दुई कम्पनीको शेयरमूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। सेयर बजारमा यस दिन मनकामना स्मार्ट लघुवित्त र मैलुङ्ग खोला जलविद्युत कम्पनीको शेयर करिब १० प्रतिशत बढेको छ।
साताको दोस्रो दिन बजार घट्नुमा तरलता अभावलाई प्रमुख कारण मानिएको छ ।
केन्द्रीय बैंकले लागू गरेको सीडी रेसियोका कारण तरलता व्यस्थापनमा कठिनाई हुन थालेको बैंकरहरुको दाबी छ ।
तथापि, अब तरलता विस्तारै सहज हुँदै जाने अनुमान गर्न सकिन्छ । किन भने बल्ल बजेट कार्यान्वयनमा आएको छ ।
सरकारले भुक्तानी दिन पनि थालेको छ । यसकारण विस्तारै तरलता सहज हुँदै जाने अपेक्षा गर्न सकिन्छ ।
बजारमा उतारचढाव आउन थालेपछि सर्वसाधारण लगानीकर्ता पनि अन्योलमा परेका हुन् ।
उनीहरुले आक्रामक हिसाबले किनिहाल्ने वा बेच्ने निर्णय गर्न सकेका छैनन् ।
त्यसैगरी, यस दिन गोर्खाज फाइनान्सको शेयरमूल्य ६ प्रतिशत बढेको छ।
कारोबारमा आएका गुडविल फाइनान्स, युनाइटेड इदी मार्दी, नेपाल फाइनान्स, कालिका पावर, पोखरा फाइनान्स र नेपाल हाइड्रो डेभलपर्सको शेयरमूल्य ७ प्रतिशतभन्दा बढी घटेको छ।
कारोबार रकमका आधारमा यस दिन पनि अरुण भ्याली हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ ।
सो कम्पनीको यस दिन करिब साढे १५ करोडको शेयर खरिदबिक्री भएको छ ।
त्यसैगरी, यस दिन युनाइटेड मोदी हाइड्रोपावरको साढे १३ करोडको शेयर कारोबार भएको छ।