तीन महिनामा एक करोडलाई कोरोना खोप लगायौँ: राज्यमन्त्री श्रेष्ठ

Nepal Cover
१३ आश्विन २०७८, बुधबार
image

काठमाडौं-वर्तमान सरकारले करिब तीन महिने कार्यकालमा एक करोड जनालाई कोरोनाविरुद्धको खोप लगाएको स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले बताएका छन्।

विश्व मुटु दिवसको अवसर पारेर बुधबार ललितपुरमा आयोजित एक कार्यक्रममा उनले उक्त कुरा भनेका हुन् ।

उनले भने‚ ‘करिव तीन महिनाको अवधिमा एक करोड थप खोप लगाइसकिएको जानकारी गराउन चाहन्छु‚ किनभने हामीले १ करोड ७७ लाख खोप ल्याइसकेका छौं।’

दशैंअघि ३३ प्रतिशत नागरिकलाई कोरोनाविरुद्धको खोप लगाइसक्ने प्रतिवद्धता जाहेर गर्दै राज्यमन्त्री श्रेष्ठले अहिले दैनिक तीन लाख जनतालाई खोप दिइरहेको बताएका छन्।

साथै‚ उनले आगामी बैशाखसम्म सबै नागरिकलाई कोरोनाविरुद्धको खोप दिइसक्ने तयारी गरिरहेको बताएका छन्।

‘हाल आएर एक दिनमा तीन लाख जनतालाई खोप लगाएका छौं । बालबालिकाहरुका लागि पनि एक करोड खोपको सुनिश्चित गरिएको छ।’

उनले भने फ्रन्ट लाइनरहरुलाई खोपमा उच्च प्राथमिकता दिइएको छ‚। ’ ‚ ‘१४ वटा हिमाली जिल्लाहरुमा १८ वर्ष भन्दा माथिका सबै नागरिकलाई कोरोनाविरुद्धको खोप लगाउने अभियानलाई सुरु गरिएको छ। ’

राज्यमन्त्री श्रेष्ठले मुटु रोग, क्यान्सरजस्ता दीर्घ रोगहरुको उपचार निःशुल्क रुपमा गर्ने गरी सरकारी अस्पतालहरुको सुधार गर्न सरकार लागि परेको बताए।