काठमाडौं- सरकारले यस वर्ष दशैँका लागि बाहिरी मुलुकबाट मासुजन्य चौपाया आयात नगर्ने भएको छ ।
पशु सेवा विभागका सहायक सूचना अधिकारी श्यामसुन्दर यादवले यस वर्ष दशैँका लागि बाहिरी मुलुकबाट मासुजन्य चौपाया आयात नगर्ने बताएका हुन्।
यस वर्षको दशैँका लागि बाहिरी देशबाट खसी,बोका,च्याङ्ग्रा र भेडा आयात नहुने भएको हो ।
बाहिरी देशको साट्टा यस वर्ष दशैँका लागि वीरगन्ञ्ज,हेटौँडा,मुस्ताङ,पोखरा,दाङलगायत जिल्लाबाट ती चौपाया ल्याइने पशु सेवा विभागले जनाएको छ ।
नेपालमै चौपायाको उत्पादन बढ्दै जाँदा माग आपूर्ति गर्न नेपालकै उत्पादनले पुग्ने भएकाले व्यवसायीहरूले बाहिरबाट आयात नगर्ने भएका हुन्।
सरकारले यस वर्षको दशैँका लागि राजधानीमा मात्र ३८ हजारको संख्यामा खसीबोका र च्याङ्ग्राको आवश्यक पर्ने अनुमान गरेको छ ।
‘सहायक सूचना अधिकारी यादवले भने यसपालिको दशैँमा उपत्यकामा विभिन्न संघसंस्था,बाख्रा व्यवसायीसँग छलफल गर्दा ३८ हजार मासुका लागि चौपाया आवश्यक पर्ने र भित्र्याउने कार्ययोजना बनाएका छौँ,’उनले भने,‘नेपालमै उत्पादन भएका यी चौपायाले नै पुग्ने भएकाले बाहिरबाट नल्याउने व्यवसायीहरूले भनिसकेका छन्,यहीँकै उत्पादित बिक्री वितरण हुन्छ।’
सरकार र चौपाया खरिद व्यवसायीहरूले बर्सेनि दशैँ र तिहार पर्वका लागि चौपायाको अपुग हुने हुँदा च्याङ्ग्रा चीन र खसीबोका भारतबाट निर्यात गर्ने गरेको थियो । तर, पछिल्लो समय नेपालमा यी चौपायाको उत्पादन बढेको यादवले बताए।
सुपथ मूल्यमा बिक्री वितरण गर्न नेपाल खाद्य व्यवस्था व्यापार कम्पनी लिमिटेडले तीन हजार खसीबोका,च्याङ्ग्रा उपत्यकामा ल्याउने तयारी गरेको छ ।
मासुका लागि स्वस्थ्य चौपाया मात्र ल्याइने खाद्य व्यवस्था व्यापार कम्पनी लिमिटेडले जनाएको छ । अहिले विभिन्न जिल्लामा चौपायाको स्वास्थ्य परीक्षण गर्ने र ल्याउने तयारी भइरहेको खाद्यले जनाएको छ ।
लिमिटेडले गत वर्षहरूमा पनि उपत्यकाबासीहरूलाई सुपथ मूल्यमा मासु बिक्री वितरण गर्दै आएको थियो।
खाद्य व्यवस्था व्यापार कम्पनी लिमिटेडले घटस्थापना आसपासबाट थापाथली केन्द्रबाट चौपाया बिक्री गर्ने तथा मासुको मूल्य पनि त्यहीबेला तोकिने बताएको छ ।
खाद्य व्यवस्था व्यापार कम्पनी लिमिटेडका अनुसार व्यवसायीहरूले यस वर्षको दशैँलाई नेपालमै उत्पादन भएको ५१ हजार खसीबोका,भेडा र च्याङ्ग्रा उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन् । जसकारण यस यस वर्षको दशैँका लागि बाहिरबाट ल्याउन पर्ने देखिदैन ।