निजी जीवन बारे सामग्री प्रसारण गरी महिलाको चरित्रहत्या गरेको आरोपमा चार युट्युबर पक्राउ

Nepal Cover
१४ आश्विन २०७८, बिहीबार
image

काठमाडौँ-प्रहरीले महिलाको चरित्रहत्या गरेको आरोपमा चार युट्युबरलाई पक्राउ गरेको छ ।

युट्युब च्यानल सञ्चालन गरी निजी जीवन बारे सामग्री प्रसारण गरी महिलाको चरित्रहत्या गरेको आरोपमा चार युट्युबर पक्राउ परेका हुन् ।

प्रहरीले तस्बिरसहितको सामग्री (भिडियो अन्तरवार्तासमेत) प्रसारण गरी महिलाको चरित्रहत्या गरेको आरोपमा प्रहरीले चार युट्युबरलाई पक्राउ गरेको छ ।

महिलाको इज्जत प्रतिष्ठामा आँच पुर्‍याइ घृणा फैलाउने सामग्री प्रसारण गरेर विद्युतीय कारोबार ऐन २०६३ अन्तर्गतको कसुर गरेकाले उनीहरुलाई पक्राउ गरिएको प्रहरीको साइबर ब्युुरोले जनाएको छ ।

पक्राउ पर्नेमा दैनिकखबर युट्युब च्यानलका सञ्चालक दाङ तुलसीपुर उपमहानगरपालिका १७ घर भई काठमाडौँको गोकर्णेश्वर बस्ने २१ वर्षीय प्रदीप भण्डारी, हरेकपलको खबर युट्युबका सञ्चालक नुवाकोट सूर्यगढी गाउँपालिका घर भई काठमाडौँको नेपालटार बस्ने २७ वर्षीय शिशिर अधिकारी, सराइचुली युट्युब च्यानलका सञ्चालक मोरङ बेलबारी नगरपालिका-९ घर भई काठमाडौँको पेप्सिकोला बस्ने ३५ वर्षीया पिङ्कला कार्की र मोर्डन अनलाइन टिभीका सञ्चालक दोलखा मेलुङ घर भइ काठमाडौंको गोकर्णेश्वर बस्ने २४ वर्षीय रोधन तामाङ रहेको ब्युरोले एक विज्ञप्ति जारी गरी जनाएको छ ।

ब्युरोका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक नविन्द्र अर्यालका अनुसार पक्राउ परेका उनीहरुमाथि बुधबार नै काठमाडौँ जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान थालिएको छ । ब्युरोमा परेको उजुरीका आधारमा उनीहरुलाई पक्राउ गरिएको हो ।

पछिल्लो समयमा युट्युब च्यालनका सामग्रीमाथि धेरै प्रश्न उठ्ने गरेको छ । कतिपय यस्ता च्यानलले प्रसारण गर्ने सामग्रीमा स्रोतको उल्लेख नहुने गरेको, सत्यतथ्यमा आधारित नरहेको तथा मानिसको चरित्रहत्या गर्ने र व्यक्तिगत विषयसमेत सञ्चारमाध्यामबाट सार्वजनिक गर्ने गरेको प्रहरीले जनाएको छ ।