यो वर्षको मनसुन अहिले पनि सक्रिय: बाहिरिन अझै केही समय लाग्ने

  Sampatti News

October 2, 2021

काठमाडौँ–यो वर्षको मनसुन अहिले पनि सक्रिय रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालबाट मनसुन बाहिरिन अझै थप केही समय लाग्ने भएको हो।

नेपालमा मनसुनको बहिर्गमनको औसत मिति अक्टोबर २ रहे तापनि यो वर्षको मनसुन अहिले पनि सक्रिय अवस्थामा छ ।

महाशाखाले शनिबार जारी गरेको विशेष मौसम बुलेटिनका अनुसार यस वर्षको मनसुन बहिर्गमनको मिति औसतभन्दा केही समय ढिलो हुने देखिएको छ।

नियमित रुपमा मनसुन बहिर्गमन प्रक्रियालाई अनुगमन गरिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

हाल भारतको दक्षिण बिहार तथा आसपासतिर रहेको न्यून चापीय क्षेत्रको प्रभावका कारण देशभर आंशिकदेखि सामान्य बदली भई प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरुमा हल्का वर्षा भइरहेको छ ।

यही प्रणालीका कारण शनिबार र आइतबार देशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

यो वर्षको मनसुन गएको जेठ २८ गते (जुन ११) मा पूर्वी क्षेत्र हुँदै नेपाल प्रवेश गरेको थियो। मनसुन अवधिमा देशको पश्चिमका केही सीमित क्षेत्रमा बाहेक लगातार जस्तो पानी परेको छ।

प्रकाशित मिति:October 2, 2021