प्रधानमन्त्री ओली अस्पतालबाट डिस्चार्ज

Nepal Cover
३० फाल्गुन २०७६, शुक्रबार
image

प्रधानमन्त्री केपी शर्मा ओली त्रिवि शिक्षण अस्पतालबाट डिस्चार्ज भएका छन्।

मिर्गौलाको दोस्रो पटक प्रत्यारोपण गरेको ११औँ दिनमा प्रधानमन्त्री ओली शुक्रबार साँझ साढे ६ बजे डिस्चार्ज भएका हुन्। प्रधानमन्त्रीलाई आजै डिस्चार्ज गर्नका लागि अपराह्‍न चिकित्सकहरूको बिशेष बैठक बसेको थियो।

प्रधानमन्त्री ओलीको उपचारमा संलग्न डा उत्तम शर्माका अनुसार प्रधानमन्त्रीको पेटमा पाइप राखिएकाले तीन दिनमा पुनस् आउने गरी डिस्चार्ज गरिएको हो। तीन दिनपछि पुन: चेकजाँच गरेर पेटको पाइप निकाल्ने या राखिरहने निर्णय चिकित्सकहरुले लिने भएका छन्।

पूर्णस्वास्थ्य लाभपछि ओली डिस्चार्ज भएको शर्माले बताए। प्रधानमन्त्री ओलीको ११ दिनअघि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा दोस्रोपटक मिर्गौला प्रत्यारोपण गरिएको थियो । उनलाई भान्जी नाता पर्ने समीक्षा संग्रौलाले मिर्गौला दिएकी थिइन् । दाता समीक्षा भने बुधबार नै डिस्चार्ज भइसकेकी छन् ।