कुनै पनि हालतमा एमसिसी पास हुन्छ: प्रम देउवा

  Sampatti News

October 22, 2021

काठमाडौँ-प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी सहायता परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) कुनै पनि हालतमा पास हुने बताएका छन्।

बाढी र पहिरोले पुर्‍याएको क्षति अवलोकन गर्न गृह प्रदेश सुदूरपश्चिम पुगेकावेला देउवाले यस्तो बताएका हुन्।

परियोजना पास हुनुपर्ने बताउँदै आएका देउवाले धनगढीमा आज (शुक्रबार) प्रेस युनियन कैलालीले आयोजना गरेको पत्रकार सम्मेलनमा उक्त कुरा बताएका हुन् ।

एमसिसी अनुदान परियोजना भएको र परियोजना लागू भएपनि नेपालको कानुनमातहत नै हुने दाबी प्रधानमन्त्री देउवाको रहेको छ ।

उनले भने, ‘एमसिसी पास हुन्छ। यसमा संशोधन आवश्यक छैन। परियोजनाबारे केही झुठा प्रचार गरिएको छ। एमसीसी परियोजना अनुदान हो। यसमा नेपालकै कानून लागू हुन्छ।’ अनुदान परियोजनाका बारेमा अनावश्यक धेरै होहल्ला गरेको देउवाको भनाइ छ।

नेपाली कांग्रेसको आसन्न महाधिवेशन सर्ने अथवा निर्धारित समयमै हुन्छ कि हुँदैन भन्नेबारे सञ्चारकर्मीको प्रश्नमा प्रधानमन्त्री तथा पार्टी सभापतिसमेत रहेका देउवाले निर्वाचन समितिलाई सबै जिम्मेबारी दिइएको बताएका छन्।

‘निर्वाचन आयोग भनेजस्तै हाम्रो पार्टीभित्र पनि निर्वाचन समिति छ। त्यो स्वायत्त समिति हो। उहाँहरूको निर्णय सबैले मान्ने हो। उहाँहरूले निर्धारित मितिमै गर्नुभयो भने हुन्छ। सार्ने निर्णय गर्नुभयो भने सर्छ,’ उनले भने।

यता, अर्ली इलेक्सनका सवालमा भने देउवाले गठबन्धनको चाहनाअनुरूप नै यस्ता निर्णय हुने बताउँदै सरकार गठबन्धनले जे भन्छ त्यही हुने बताएका छन्।

बाढी र पहिरोको क्षति अवलोकन गर्न प्रधानमन्त्री गृहप्रदेश सुदूरपश्चिम पुगेका हुन् । देउवा आजै काठमाडौं फर्किने कार्यक्रम रहेको बताइएको छ।

प्रकाशित मिति:October 22, 2021