काठमाडौँ-आज प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँगको भेटपछि नेपाल बारका अध्यक्ष चन्द्रेश्वर श्रेष्ठले बेन्च बहिष्कार गर्नेसम्मको अवस्था आउन सक्ने बताएका छन् ।
बार र न्यायपालिका मिलेर जानुको विकल्प नभएको बताउदै उनले सञ्चारकर्मीसँगको कुराकानिमा बेन्च बहिष्कारको चेतावनी दिएका हुन् ।
प्रधानन्यायाधीशसँगको आजको छलफलका क्रममा प्रधानन्यायाधीशले नेपाल बार र न्यायपालिका मिलेरै जानुपर्ने धारणा राखेको अध्यक्ष श्रेष्ठले बताएका छन् ।
छलफलका क्रममा आफूहरुले संस्थाको सुधार गर्न सकिँदैन भने प्रधानन्यायाधीशले मार्गप्रशस्त गरिदिनुपर्ने कुरा पनि उठाएको अध्यक्ष श्रेष्ठले बताएका छन् ।
उनले हरिकृष्ण कार्की नेतृत्वको समितिले बुझाएको न्यायालय सुधारको प्रतिवेदन अनुसार कार्यान्वयन गरियो भने धेरै समस्या समाधान हुने बताउदै त्यही कुराको माग गरेको उल्लेख गरे।
दुई दिनअघि मात्रै नेपाल बारले कार्की नेतृत्वको प्रतिवेदन कार्यान्वयनका लागि प्रधानन्यायाधीशलाई १५ दिने अल्टिमेटम दिएको थियो ।
सोही अल्टिमेटम प्रतिबद्धताको माग गर्दै बारका पदाधिकारीले आज प्रधानन्यायाधीशलाई भेटेको थियो ।