काठमाडौँ-नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रधानन्यायाधीशमाथि महाभियोग लगाउने बिषयमा आफ्नो धारणा सार्वजनिक गरेका छन् ।
आज धनगढी विमानस्थलमा समाजवादी प्रेस संगठन नेपालले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले महाभियोगको विषयमा पाँच दलीय गठबन्धनमा कुनै छलफल नभएको बताएका हुन् ।
प्रधानन्यायाधीशविरुद्ध महाभियोग लगाउने कुरा न्यायपालिकालाई स्वतन्त्र रुपमा काम गर्न नदिने, हस्तक्षेप गर्ने, निरंकुशता चाहने केपी ओलीको खेल भएको उनले बताएका छन् ।
उनले प्रधानन्यायाधीशविरुद्ध महाभियोग लगाउने कुनै योजना नरहेको बताएका छन् ।
आफूहरुले ठुलो त्याग र बलिदान गरेको पार्टीलाई फुटाउने र संस्थापनलाई लात हानेर हटाउने केपी ओलीको प्रवृत्तिका विरुद्ध विद्रोह गरेर नयाँ पार्टी खोलेको उनले बताए ।
केपी ओलीजीले एक्लै सरकार र पार्टी चलाउन खोजे, निरंकुशता हावी गर्न खोजे, तानाशाही बन्न खोजे, यस्ता प्रवृत्ति हाबी हुन नदिन नेकपा एकीकृत समाजवादी पार्टी निर्माण गरेको उनको भनाइ छ ।
आफ्नो पार्टीमा नेताभन्दा पनि विचार प्रधान हुने उनले बताए । ‘हाम्रा नेता तथा कार्यकर्ताले सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादीलाई ठुलो पार्टी बनाउन सफल हुनु भएको छ,’ उनले भने, ‘बागमती प्रदेशमा राजेन्द्र पाण्डे मुख्यमन्त्री हुँदै छन्, हाम्रो लागि आजको दिन खुशीको दिन हो ।’