प्रहरीले थाल्यो, घुमुवा प्रहरी शुद्धिकरण अभियान

  Sampatti News

March 16, 2020

काठमाडौं । प्रहरीले उपत्यकामा घुमुवा प्रहरी शुद्धिकरण अभियान शुरु गरेको छ । महानगरीय प्रहरी परिसर काठमाण्डौ, ललितपुर र भक्तपुर तथा मातहत समेतमा लामो समयदेखि सादा पोशाकमा कार्यरत रहेर पनि उल्लेखनिय कार्य गर्न नसकेका १७ अधिकृत ५७ जवानबाट शुद्धिकरण अभियान शुरु गरिएको हो ।

७४ जना अधिकृत तथा जवानलाई तोकिएको सादा पोशाकको जिम्मेवारीबाट हटाई महानगरीय सशस्त्र प्रहरी गण महाराजगंजमा पठाईएको हो । प्रहरीको आचरण तथा व्यवहार सुधार गर्ने र प्रहरीप्रति लागेको लान्छना मेटाउने र जनविश्वास अभिवृदी गर्ने उद्देश्यले प्रहरी शुद्धिकरण अभियान
अघि बढाइएको महानगरीय प्रहरी कार्यालयले जनाएको छ ।

आचरण व्यवहार सुधारको हिसाबले पठाइएका अधिकृत तथा जवानलाई महानगरीय प्रहरी शिक्षालय महाराजगंजमा ७ दिने सुधारात्मक तालिम समेत दिइने बताइएको छ ।

यसपछि इन्टेलिजेन्ट ग्रुपमा कार्यरत कर्मचारीमा सकारात्मक आचरण व्यवहारमात्र नभएर तोकिएको जिम्मेवारी भित्र रहेर परिणाममूखी कार्यको हरेक महिना मूल्याकङ्न हुने परिपाटीको थालनी गरिने पनि महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायव महानिरीक्षक विश्वराज पोखरेलले जानकारी दिनुभएको छ ।

प्रकाशित मिति:March 16, 2020